काठमाडौं– साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपालले दोस्रो खेलमा सानदार जित हात पारेको छ।
बंगलादेशको ढाकास्थित वप्र श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बुधबार सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६–० को फराकिलो जित निकालेको हो।
नेपालको जितमा रश्मीकुमारी घिसिङले २ तथा सविता रानामगर, मेनुका आलेमगर, रजनी थोकर र सलोनी रानामगरले समान १ गोल गरिन्।
खेलमा नेपालले खेलको पाँचौ मिनेटमा रश्मीको गोलबाट अग्रता लिएको थियो। लगत्तै छैटौं मिनेटमा सविताले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्।
४३औं मिनेटमा मेनुकाले गोल गर्दै नेपालले पहिलो हाफमा ३–० को अग्रता दिलाइन्। नेपालले दोस्रो हाफमा थप ३ गोल थप्यो।
४८औं मिनेटमा रजनीले गोल गर्दै नेपाललाई ४–० ले अघि बढाइन्। ५३औं मिनेटमा सलोनीले गोल गर्दै नेपाललाई ५–० को फराकिलो अग्रता दिलाइन्। ८५औं मिनेटमा रश्मीले गोल गर्दै नेपालको फराकिलो जित पक्का गरिन्।
जितसँगै नेपालको दुई खेलबाट ४ अंक पुगेको छ। यसअघि पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।
समान ४ अंक नै रहेपनि नेपाल बंगलादेशसँग पछि छ। पराजित श्रीलंकाले तीन खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन। श्रीलंका पहिलो खेलमा भुटानसँग तथा दोस्रो खेलमा भारतसँग समान ५–० ले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।