काठमाडौं– प्रदेश २ को प्रदेशसभा आठौं अधिवेशन आज ११ बजे सुरु हुँदैछ। अधिबेशनमा मन्त्रिपरिषद बिस्तारबारे जानकारी, दलहरुको शुभकामना, प्रदेशको नाम र राजधानी तथा दुई विश्वविद्यालयसम्बन्धी विधेयक पेश गरिने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमा प्रदेश सरकारले अध्यादेशमार्फत जारी गरेका दुई विश्वविद्यालयसम्बन्धी विधेयकहरु सभामा पेश गरिने र ती विधेयकहरुउपर टेबुल हुने कार्यसूची रहेको छ।
यसअघि सभामुख सरोजकुमार रायले सातांै अधिवेशनमा प्रदेशको नामकरण र राजधानी टुंग्याउन रुलिंग गर्नुभएको थियो ।प्रदेश २ मा चारदलीय गठबन्धन सरकार गठन भएपछि प्रथम पटक प्रदेशसभा अधिवेशनको आह्वान गरिएको छ।
जनता समाजवादी पार्टीको नेतृत्वको प्रदेश २ सरकारलाई दुई तिहाईभन्दा बढी प्रदेश सभासदको समर्थन रहेको छ । जसपाको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र गठबन्धन सरकारमा सहभागी छन । गठबन्धन दलहरुबीच भने प्रदेशको नाम र राजधानीको विषयमा सहमति भएको छैन।
प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आज बुधबार बिहान ११ बजेका लागि प्रदेश सभाको आठौ अधिवेशन आह्वान गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।