काठमाडौं– बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा भिएफबी स्टुटगार्डमाथि सानदार जित दर्ता गरेको छ। सर्ज जिनाब्रीको ह्याट्रिकको मद्दतमा बायर्नले घरेलु टोली स्टुटगार्टलाई ५–० गोल अन्तरले पराजित गरेको हो। बायर्नको जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोल गरे।
मर्सेडेस बेन्ज एरिना स्टुटगार्टमा मंगलबार राति सम्पन्न खेलमा बायर्नले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा ४ गोल थपेको थियो। खेलको सुरुदेखि नै घरेलु टोलीलाई दवावमा राखेको बायर्नले पहिलो गोल भने ४०औं मिनेटमा मात्र गरेका थियो।
सर्ज जिनाब्रीले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा १–० को अग्रता दिलाए। त्यसपछि ५३औं मिनेटमा जिनाब्रीले थोमस मुलरको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे।
रोबर्ट लेवान्डोस्कीले खेलको ६९औं मिनेटमा गोल गर्दै बायर्नलाई ३–० को स्थितिमा पुर्याए। उनले जिनाब्रीको पासमा गोल गरेका थिए। ७२औं मिनेटमा पुनः जिनाब्रीकै पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बायर्नलाई फराकिलो जिततर्फ अघि बढाए । ७४औं मिनेटमा जिनाब्रीले ह्याट्रिक पूरा गर्दै बायर्नलाई सानदार जित दिलाए।
जितसँगै शीर्षस्थानमा रहेको बायर्नको १६ खेलबाट ४० अंक पुगेको छ । बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई ९ अंकल पछि पारेको छ। पराजित स्टुटगार्ट १७ अंक जोडेर १५औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।