काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडमाथि गोलको वर्षा गरेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा तालिकाको शीर्षस्थानमा रहेको सिटीले लिड्समाथि ७–० को फराकिलो जित हात पारेको हो।
इतिहाद स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा सिटीका लागि केभिन डि ब्रुएनले दुई तथा फिल फोडेन, ज्याक ग्रेलिस, रियाद महारेज, जोन स्टोन्स र नाथन एकले समान एक/एक गोल गरे। सिटीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल गरेको थियो।
गोलको वर्षा भएको खेलमा सिटीले खेलको आठौं मिनेटमा फिल फोडेनको गोलबाट सिटीले अग्रता लिएको थियो। १३औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीले अग्रता दोब्बर बनाए।
खेलको ३२औं मिनेटमा केभिन डि ब्रुएनले रोड्रीको पासमा गोल गर्दै पहिलो हाफमा खेल ३–० को स्थितिमा पुर्याए। ४९औं मिनेटमा रियाद महारेजले इल्केए गुन्डोगानको पासमा गोल गरेपछि सिटी खेलमा ४–० ले अघि बढ्यो।
खेलको ६२औं मिनेटमा केभिन डि ब्रुएनले गुन्डोगानकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे। जोन स्टोन्सले ७४औं मिनेटमा गोल गर्दै सिटीलाई ६–० को स्थितिमा पुर्याए। ७८औं मिनेटमा नाथन एकेले फिल फोडेनको पासमा गोल गर्दै सिटीको फराकिलो जित पक्का गरे।
जितसँगै शीर्षस्थानमा रहेको सिटीले १७ खेलबाट ४१ अंक जोडेकोे छ। सिटीले एक खेल कम खेलेको दोस्रो स्थानको लिभरपुललाई ४ अंकले पछि पारेको छ। पराजित लिड्स १६ अंकका साथ तालिकाको १६औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।