काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका नेता प्रकाशमान सिंह र उपसभापति विमलेन्द्र निधिसँग सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्नुको कारण माग गरेका छन्।
जारी महाधिवेशनअन्तर्गत पहिलो चरणको निर्वाचनबाट सभापतिमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेपछि दोस्रो चरणको निर्वाचन गरिएको थियो। जसमा प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवा र पार्टी केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको छ।
पहिलो चरणबाटै बाहिरिएका सिंह र निधिले दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए। नेता थापाले त्यसैको जवाफ सिंह र निधिसँग मागेका हुन्।
'प्रकाशमान र विमलेन्द्र निधिले एउटा प्रश्नको जवाफ दिनुपर्छ भन्ने हो। हिजोसम्म के भनियो भने आफू जित्नेभन्दा फलानोलाई हराउनु महत्त्वपूर्ण हो। नेतृत्वको निरन्तरताले क्षति हुन्छ भनियो। तर, आज देउवालाई समर्थन गर्ने निर्णय गरियो,' राष्ट्रिय सभागृहमा मङ्गलबार राति सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने, 'निर्णय गर्न त पाइन्छ। तर, किन त्यस्तो निर्णय गरियो? त्यसको जवाफ प्रेसलाई पनि बताउनुपर्छ। पार्टीका साथी, देश र जनतालाई बताउनुपर्छ।'
उनले थप भने, 'हिजो तिम्रो (देउवा) कारण आम चुनावमा पार्टी हार्यो भनिएको छ। तिम्रो कारणले गर्दा पार्टीको इमेज खराब भयो। अनि आज तिमीलाई नै ल्याउनुपर्यो? भन्ने प्रश्नको उत्तर उहाँहरु दुईजनाले दिनुपर्छ। आज एक्कासी के भयो त्यस्तो फेरि, मेरो समर्थन छ भन्नेमा पुग्नुभयो। यो प्रश्नले भोलिका दिन उहाँहरुलाई लखेट्छ होला।'
सभापतिका लागि देउवा आफैं पनि जित्नेमा 'कन्फिडेन्ट' नभएको उनले दाबी गरे। 'उहाँ (देउवा)दिनभरि उभिएर एक-एक मतदातालाई हात जोडेर मत माग्नुभयो। मनमा डर भएकै कारण उहाँ दिनभरि मतदानस्थलमा बसेर मत माग्नुभएको हो,' नेता थापाले भने।
जारी महाधिवेशनमा थापा शेखर प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका छन्। सभापतिबाहेक अन्य पदको मतगणना बिहीबार हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।