काठमाडौं- नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको मतदान अब करिब आधा घण्टामा सकिने भएको छ। यसअघि ७:३० बजेसम्मका लागि मतदानको समय निर्धारण गरिएकोमा मतदान नसकिएपछि थपिएको थियो।
पछिल्लो अपडेटअनुसार दोस्रो चरणको मतदानमा हालसम्म चार हजार ४०० मतदाताले आफ्नो मत खसालिसकेका छन्। कूल मतदाता संख्या चार हजार ७४३ रहेको छ।
दोस्रो चरणमा वर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला प्रतिस्पर्धामा छन्।
पहिलो चरणमा पाँच जना सभापतिमा लडे पनि कसैले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुन: मतदान गरिएको हो। पहिलो चरणमा पहिलो र दोस्रो स्थानमा रहेका देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भइरहेको छ।
पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए।
दोस्रो चरणको मतदान सकिएपछि आजै राति १० बजेबाट मतगणना सुरु गरिने निर्वाचन समितिको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।