काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ।
पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशत भन्दा बढी मत नपाएपछि दोस्रो चरणको मतदान सुरु भएको हो।
साढे तीनबजेबाट सुरु मतदानमा पहिलो भोट शान्ति कार्कीले खसालेकी छन् । उनी वीरगञ्ज महानगरपालिकाकी उपमेयरसमेत हुन्।
नेपाली कांग्रेसको निर्वाचन समितिले आज दिउँसो साढे ३ बजेदेखि बेलुका ७.३० बजेसम्म मतदान हुने जनाएको छ।
कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यको पदका लागि हिजो भएको निर्वाचन अन्तर्गत, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २१ बमोजिम गठन हुने केन्द्रीय कार्यसमितिको सभापति पदका लागि भएको निर्वाचनमा जम्मा ४६७९ मत खसेको र खसेको मत मध्ये ७६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
सभापति पदका उम्मेदवारहरु क्रमशः कल्याणकुमार गुरुङले २२ मत, प्रकाशमान सिंहले ३७१ मत, विमलेन्द्र निधिले २५० मत, डा. शेखर प्रसाद कोइरालाले १७०२ मत र शेर बहादुर देउवाले २२५८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएका निधि, सिंह र गुरुङले देउवालाई समर्थन गर्ने जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।