काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताएका छन्।
मंगलबार १५ औँ संघीय संसद सेवा दिवसको अवसरमा संघीय संसद् सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले सभामुखको रुपमा आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिवद्धता जनाए।
उनले आफूले संसदको प्रतिष्ठा र गौरवलाई माथि उठाउने प्रयत्न गर्ने भन्दै त्यसका निम्ति साथ दिन कर्मचारीहरुलाई आग्रह गरे।
आफूसँग काम गर्ने स्प्रिट रहेको उल्लेख गर्दै सभामुख सापकोटाले कर्मचारीहरुसँग रहेको विज्ञतालाई संयोजन गरेर काम गर्न सके संसदप्रति जनतालाई आशावादी बनाउन सकिने विश्वास व्यक्त गरे।
‘मलाई यो राष्ट्रले, इतिहासले र जनताले, मलाई १७५ जना प्रतिनिधि सभाका सदस्यहरुले वर्तमानमा राज्यका तीनवटा अंगमध्ये एउटा अंगको नेतृत्व गर्ने जिम्मेवारी दिनुभएको छ। त्यो जिम्मेवारीलाई पुरै निष्ठाका साथ, पूरै इमानका साथ पुरा गर्नेछु' उनले भने, 'त्यो पूरा गर्दै जाँदा मलाइ लाग्छ, हामी सबैको इज्जत, प्रतिष्ठा, गौरव माथि उठ्दै जान्छ। मेरो पहल र प्रयत्नमा तपाइहरुले साथ दिनुहुनेछ।'
उनले सवैतिर निराशा छाइरहेको बेलामा संघीय संसद्बाट शक्तिशाली सन्देश दिएर जनतालाई आशावादी बनाउन सक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।