काठमाडौं– सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल लिगमा जावलाखेल युथ क्लब तालिकाको १३औं स्थानमा छ।
जावलाखेल खेलेका तीन खेलमा तीनैमा पराजित भएको थियो। जावलाखेलले मनाङ मस्याङ्दी र नेपाल पुलिस क्लबसँग समान १–० को हार बेहोर्दा मछिन्द्र फुटबल क्लबसँग २–० ले पराजित भएको थियो। र, जावलाखेल रेलिगेसन जोनमा रहेको छ।
यही जावलाखेलले सोमबार ललितपुर डर्बीमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सँगको सामना गर्दा पहिलो अंक जोडेको छ।
२०६८ यताका लिगमा यी दुई टिमबीच तीन भेट भएको थियो। यी तीनै खेलमा जावलाखेल विजयी रहेको छ। तर, सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेलले बीबीसीसँग गोलरहित बराबरीमा चित्त बुझाएको छ।
यो बराबरीसँगै जावलाखेलले लिगको चौथो खेलबाट पहिलो अंक जोडेको छ। जावलाखेलले बीबीसीलाई दवाबमा राख्दै आधा दर्जन बढी गोलको अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेन। यता, बीबीसीले पनि केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन्।
खेल सकिएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै जावलाखेलका मुख्य प्रशिक्षक किशोरकुमार केसीले रेफ्रीको निर्णयलाई लिएर असन्तुष्टि जनाए। केसीले रेफ्रीको विषयलाई लिएर अखिल नेपाल फुटबल संघ ९एन्फा० कै भूमिकामा प्रश्न उठाएका छन्।
‘ए डिभिजन लिगको खेल खेलाइरहेको छ। ब्याज नै छैन। त्यस्तो रेफ्रीहरूले खेलाएर नेपालको फुटबल विकास होला तरु,’ उनले भने,‘रेफ्रीले एकदम धेरै गल्ती गरिदिएको छ। म रेफ्रीप्रति कहिल्यै पनि नराम्रो नबोल्ने मान्छे हुँ।’
सोमबार चौथो चरणको अन्तिम खेल ज्ञानबहादुर तामाङले खेलाएका थिए। विक्रम चौधरी र हरिश कार्की सहायक रेफ्री थिए। फोर्थ अफिसियलमा प्रज्वल क्षेत्री थिए भने एसेसरमा विकास महत थिए। केसीले फिफा रेफ्रीहरूले नै खेलाइदिए राम्रो हुने तर्क प्रस्तुत गरे। ‘तर, किन नगरेको हो कुन्नि ! यसमा एन्फाकै षड्यन्त्र हो कि मैले बुझ्न सकिनँ। यस प्रकारले नेपाली फुटबलको विकास हुँदैन,’ उनले भने।
केसीले तीन अंकको लागि खेले पनि एक अंकमा चित्त बुझाउनुपरेको बताए। ‘पहिलो हाफ दवाबमा खेल्यौं तर, गोल गर्न सफल भएनन्। दोस्रो हाफमा हामीले पनि अवसर सिर्जना गर्यौं। उनीहरूले पनि गरेका थिए। तर, एक अंकमा चित्त बुझाउनु पर्यो,’ उनले भने।
बराबरीसँगै बीबीसीको ४ खेलबाट ५ अंक पुगेको छ। समान ५ अंक नै रहेपनि बीबीसी थ्रीस्टारसँग पछि पर्दै सातौ स्थानमा रहँदा पुलिस र एनआरटीभन्दा अघि छ। लिगमा पहिलो अंक जोडेको जावलाखेलले एपीएफलाई पछि पार्दै १३औं स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।