काठमाडौं– कतिपय देशमा चर्चा कमाइसकेको खेल स्केटबोर्डिङ नेपालमा फाट्टफुट्ट खेलिन्थ्यो। खेलाडी संगठित थिएनन्। सन् २०१५ मा 'नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघ' गठन भएपछि गजेन्द्र बर्देवाजस्ता खेलाडीले अवसर पाउन थाले।
त्यसअघिसम्म यो खेललाई मनोरञ्जनको रूपमा लिइन्थ्यो। संघ स्थापनापछि प्रतियोगिताहरू हुन थाले। गजेन्द्र राष्ट्रिय च्याम्पियन नै भए। तर, अझै पनि यो खेलको खास चर्चा हुँदैन। न त खेलाडीको रूपमा चिनिन्छन्। त्यहीकारण लकडाउनको समयमा आफूहरूले अभ्यास गर्न नपाएको उनी बताउँछन्।
गजेन्द्रलाई स्केटबोर्डिङ गरिरहनुपर्ने, हरेक दिन अभ्यास गर्ने बानी थियो। तर, लकडाउनमा थुनिएपछि उकुसमुकुस भयो। केही दिन त घरभित्र बसे। त्यसरी थुनिइरहन सकेनन्। मनमा प्रश्न उठ्यो– आखिर कहिलेसम्म यसरी बस्ने?
उनी केही साथीभाइसँग कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा अभ्यास गर्न निस्किने सोच बनाए। साथीभाइले साथ दिएनन्। त्यसपछि आफ्नै घरको बरन्डालाई स्केट पार्क बनाए। एक डेढ महिना त्यसरी नै अभ्यास गरे। तर, साँघुरो बरन्डाले उनलाई उकुसमुकुस मात्रै बनाएन भित्तातिर ठोक्किएर खेल जीवन नै गुम्ने चिन्ता भयो। अनि सडकमा निस्किने सोच बनाए।
एक दिन उनले आँट जुटाए। सडकमा निस्किएर स्केटबोर्डिङ गर्न थाले। स्केटबोर्ड भुईंमा राखेर उनले खेल्न मात्र के सुरु गरेका थिए प्रहरी आइहाले। ‘मैले सबै प्रोटोकल अपनाएको थिएँ। सडकमा अरु पनि थिए, उनीहरुलाई प्रहरीले हिँडडुलमा छुट दिएको थियो।’ उनी भन्छन्, ‘तर, प्रहरीले मलाई मेरो लुक्सको कारण दुर्व्यवहार गर्यो। ममाथि हातपात पनि भयो।’
उनले आफू स्केटबोर्डिङको राष्ट्रिय खेलाडी भएको कार्ड देखाए। नजिकिँदै गरेको प्रतियोगिताको लागि अभ्यास गर्न निस्किएको सुनाए। तर, प्रहरीले छुट नदिएपछि उनी निराश भएर फर्किए। सन् २०१५ मा स्केटबोर्डिङ संघ गठन भएपछि नै उनी फुटबल छाडेर यो खेलतर्फ होमिएका थिए। उनी जर्मनी, पोर्चुगल, स्पेनलगायत छिमेकी देश भारतका मुम्बई, दिल्ली तथा अन्य शहरमा आयोजना भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्।
यही खेलले गर्दा उनले विदेशी खेलाडीसँग जोडिने अवसर मात्रै पाएनन् नेपाललाई विश्वसामु स्केटबोर्डिङबाट चिनाउने अवसर पनि प्राप्त गरे। तर, यस खेललाई अन्य देशमा सम्मानपूर्वक हेरिए पनि नेपालमा नकारात्मक दृष्टिकोण भएको उनी बताउँछन्। ‘नेपालमा अझै पनि कुलत र लागुऔषधमा फसिसकेका युवाहरूले मात्रै खेल्ने खेल भनेर बुझ्छन्। यसले हामीजस्ता खेलाडीलाई निरुत्साहित बनाउँछ,’ उनी भन्छन्।
वास्तवमा स्केटबोर्डिङ त्यस्तो खेल हो, जसले सामान्य परिवारका बालबालिकालाई पनि आकर्षण गरिरहेको छ। भारतमा स्केटबोर्डिङ गर्नेको संख्या स्थिर दरमा बढ्दै गएको उनी बताउँछन्। सीमित स्रोतबाटै भारतीय स्केटबोर्डिङले ठूलो प्रगति गरेको छ। कुनै समय मुम्बई, दिल्ली, पुणे र बेङगलुरु जस्ता ठूला सहरका विद्यालयमा मात्रै सीमित स्केटबोर्डिङ अहिले ग्रामीण क्षेत्रमा पनि लोकप्रिय हुँदैछ। नेपाल सरकारले भने यो खेललाई नबुझ्दा भविष्यमा हुनसक्ने राम्रा खेलाडीको बाटो नै थुनिएको उनी बताउँछन्।
यो खेलका लागि मैदानको अभाव छ। ‘हामी कीर्तिपुरमा अभ्यास गर्छौं। त्यहीँ नजिकै आएर कतिपयले गाँजा तान्छन्, कुट्ने लखेट्ने पनि गर्छन्,’ उनी भन्छन्, ‘अभ्यास गर्ने वातावरण र मैदान दुवैको कमी छ।’
खेल संघ दर्ता भएपछि पहिलोपटक सन् २०१५ मै पोखरामा राष्ट्रिय प्रतियोगिता भएको थियो। प्रतियोगिताका लागि संघ पदाधिकारी आफैँले खर्च गरेका थिए।आर्थिक सकस भोगिरहेको संघले कोरोना सुरु हुनुअगाडि चार वटा प्रतियोगिता आयोजना गरेको थियो। तर, सरकारले सहयोग नगर्दा संघले गर्ने प्रतियोगिता प्रभावकारी हुन सकेका छैनन्।
सरकारले जस पाउने खेललाई मात्रै आफ्नो प्राथमिकतामा राख्दा स्केटबोर्डिङ जस्तो नयाँ र संभावना बोकेको खेल छायाँमा परेको नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल बताउँछन्। ‘खेलकुद भन्ने बितिक्कै ओहदामा बसेकालाई विदेश जाने माध्यम मात्रै भएको छ। उनीहरू नयाँ खेललाई अवसर दिन नाक खुम्च्याउने गर्छन्,’ उनी भन्छन्, ‘अहिले पनि प्रमुख खेल फुटबल र क्रिकेट मात्रै हो भन्ने संकुचित सोच छ। यही सोचका कारण नयाँ र सम्भावना बोकेको खेलहरू छायाँमा पर्दै आएका छन्।’
नेपालमा करिब १९३ भन्दा बढी खेल संघ राष्ट्रिय खेलकुद परिसद् (राखेप)मा दर्ता छन्। कतिपय संघ आर्थिक अभावका कारण चल्न सकेका छैनन्। कतिपयलाई महत्व नदिँदा खारेज भएका छन्। कतिपय खेललाई भने विदेश घुम्ने माध्यम मात्र बनाइएको छ।
स्केटबोर्डिङले करिब ६ वर्षको इतिहास पार गर्दा स्तरीय मैदान बनाउन सकेको छैन। खेलाडीहरु सडक र खाली चौरमा अभ्यास गर्छन्। यसरी अभ्यास गर्दा दुर्घटनाको जोखिम हुन्छ। ‘हामीसँग स्केटबोर्डिङका लागि राम्रो ठाउँ नै छैन। भएको ठाउँमा पनि पूर्वाधार निर्माण गर्न सकेका छैनौं। क्रिकेट र फुटबलको जस्तो अर्बौंको लागत लाग्ने रंगशाला हामीलाई चाहिँने होइन। करिब ५० लाखमै स्केट पार्क बन्छ। त्यति बजेट पनि सरकारले व्यवस्था गरिदिँदैन,’ अध्यक्ष खनाल भन्छन्। बजेट अभावमा कतिपय खेलाडी आफ्नै खर्चमा प्रतियोगिताका लागि विदेश जाने गरेका छन्।
कुनै पनि खेलको लागि संघ आफैँले भौतिक पूर्वधार बनाउन सक्षम हुँदैन। यसका लागि सरकारले नै सहयोग गर्नुपर्छ। स्केटबोर्डिङलाई सरकारले सातदोबाटोमा जग्गा दिए पनि बजेट अभावमा पूर्वाधार बन्न सकेको छैन। यद्यपि, संघले स्केट पार्क बनाउन पोखरा, बुटवल र झापामा जग्गा छुट्टाइसकेको छ।
झापामा विदेशी र निजी लगानीमा पार्क बन्दैछ। अन्य स्थानमा कहिले बन्ने हो टुङ्गो छैन। सातदोबाटोमा यसै वर्ष पार्क बन्ने संभावना रहेको खनाल बताउँछन्। ‘काठमाडौंमा यही वर्ष पार्क बन्छ भन्नेमा ढुक्क छु। सरकारी सहयोग नपाए पनि विदेशी एजेन्सीहरुले हामीलाई सहयोग गर्ने आश्वासन दिएका छन्,’ उनी भन्छन्, ‘विदेशमा च्यारिटी खेल खेलाएर भए पनि हामी सहयोग गर्छौं भनेर भनेका छन्।’
सरकारले सहयोग नगर्दा स्केटबोर्डिङका खेलाडीलाई लामो समय बन्द प्रशिक्षण राखेर अभ्यास गराउन नसकेको खनाल बताउँछन्। बन्द प्रशिक्षणको लागि खेलाडीलाई होस्टेलमा राखेर तयारी गराउन सक्ने आर्थिक हैसियत नभएको खनालको भनाइ छ। प्रतियोगिताका लागि खेलाडी छनौट गर्दा एक दुई दिनको मात्र प्रशिक्षण शिविर राख्ने गरेको उनी बताउँछन्। यसरी छनोट गरेको खेलाडीले ठूलो प्रतियोगितामा राम्रो नतिजा ल्याउन नसकेको खेलाडीहरुकै गुनासो छ। ‘संघसँग बजेट छैन। जति खर्च गरेको छु त्यो आफ्नो पकेटबाट हो। हाम्रो होस्टेल हुने हो भने बन्द प्रशिक्षण राख्न सक्छौं,’ खनाल भन्छन्।
संघले खेलाडी उत्पादनको योजना बनाएको छ। उपत्यकाका निजी विद्यालयबाट झन्डै १२ सय खेलाडी जम्मा गरेर प्रशिक्षण दिने संघको योजना छ। यो योजना सफल भए भारत जस्तै नेपाल पनि स्केटबोर्डिङको हब बन्नसक्छ। तर, हाल भने भइरहेका खेलाडीलाई ‘एक्स्पोजर’को खाँचो छ। अहिले खेलिरहेका गजेन्द्रजस्तै केही खेलाडीले विदेशमा खेल्न पाएका छन्। तर, उनीजस्तै भविष्य बोकेका अन्य खेलाडीले एक्स्पोजर र प्रशिक्षण नै पाउन सकेका छैनन्।
तस्बिरहरू: निमेषजंग राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।