काठमाडौं– नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले पार्टीले आफूलाई न्याय गर्नेमा विश्वस्त रहेको बताएका छन्। एमालेको दशौं महाधिवेशनपछि केन्द्रीय सदस्यमा छुटेका पोखरेलले केही समय प्रतीक्षा गर्ने बताएका छन्।
एमाले महाधिवेशनको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पोखरेलले केन्द्रीय कमिटीमा पर्नेमा विश्वस्त थिए। तर, परेनन्। उनले केन्द्रीय कमिटीमा राख्न नेतृत्वलाई दबाब पनि दिएनन्। तर, पछिल्लोपटक मनोनितमा समेत नपरेपछि पोखरेल असन्तुष्ट छन्।
‘यसअघि मैले पार्टीको चितवन जिल्लाको अध्यक्षका रुपमा दुई कार्यकाल चलाएँ। एमाले–माओवादी एकता भएपछि माओवादीका नेता यमबहादुर परियारलाई अध्यक्ष बनाएर मलाई घटुवा गरेर सचिव बनाइयो। मैले अपमानित भएपनि सचिव पदमा बसेर काम गरेँ। दुई पटक सांसदमा निर्वाचित भएँ’, नेपाल लाइभसँग कुरा गर्दै पोखरेलले भने, ‘त्यसो हुँदा मलाई केन्द्रीय कमिटीमा राखिन्छ भन्नेमा पूर्ण विश्वासमा थिएँ। पार्टीलाई के कस्तो अवस्था बन्यो र मलाई केन्द्रीय सदस्यमा समेटिएन थाहा छैन। तर, पार्टीले न्याय गर्नेमा विश्वस्त छु।’
आफूले संसद् र कानुन निर्माणको प्रक्रियामा भूमिका निर्वाह गरेकाले केन्द्रीय कमिटीमा ल्याउन सक्ने सम्भावना अझै रहेको पोखरेलले बताए। ‘मलाई कहीँ न कहीँ न्याय होला भन्ने लागेको छ। मलाई न्याय हुनेमा विश्वस्तै छु’ पोखरेलले भने, ‘प्रतीक्षा गर्दापनि न्याय भएन भने त्यसपछि के गर्ने त्यतिबेला थाहा हुन्छ।’
पोखरेल एमाले चितवन जिल्ला पार्टीमा लगातार २८ वर्ष रहेर दुई कार्यकाल अध्यक्ष समेत भएका थिए। दोस्रो संविधान सभा र २०७४ सालको प्रतिनिधि सभामा उनी निर्वाचित भएका थिए।
दुर्गा प्रसाईं केन्द्रीय कमिटीमा अटाउँदा आफू नपरेपछि पोखरेल असन्तुष्ट बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।