काठमाडौं– चालु आर्थिक वर्षको सुरुबाट नै वाणिज्य बैंकहरुमा निक्षेप संकलन लगातार घट्दो क्रममा देखिएको छ।
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार मंसिर चौंथो साता पनि बैंकहरुको निक्षेप संकलन ५ अर्ब रुपैयाँले घटेको छ। मंसिर यता नै बैंकहरुको निक्षेप संकलन १२ अर्ब रुपैयाँले घटेको छ।
मंसिर २४ गतेसम्ममा बैंकहरुको कूल निक्षेप संकलन ४२ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ। यस्तै, कर्जा लगानी भने लगातार बढ्दो क्रममा नै छ।
गत सातामात्रै बैंकहरुको कर्जा लगानी ७ अर्ब रुपैयाँले बढेको छ। मंसिर लागेदेखि बैंकहरुको कर्जा लगानी ४२ अर्ब रुपैयाँले बढेको छ। मंसिर २४ गतेसम्ममा बैंकहरुको कूल कर्जा लगानी ४० खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ।
बैंकहरुको कर्जा लगानी बढेको कारण गत शुक्रबारसम्ममा बैंकहरूको सिडि रेसियो औसतमा ९१.४९ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
केन्द्रीय बैंकले आगामी असार मसान्तभित्र बैंकहरुले यस्तो अनुपात ९० प्रतिशतभन्दा कम राख्नु पर्ने व्यवस्था गरेको छ। तर, बैंकहरुले यो आर्थिक वर्षमा निक्षेप संकल बढाउन सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।