काठमाडौं- निरज बस्नेतको निर्णायक गोलमा संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय नेपाल पुलिस क्लबमाथि सङ्घर्षपूर्ण जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा संकटाले पुलिसलाई १-० ले पराजित गरेको हो।
संकटाको जितमा पहिलो हाफमा निरज कस्नेतले गरेको गोल नै निर्णायक बन्यो। निरजले खेलको १८औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा डाइभिङ हेडरमार्फत् गोल गरेका थिए।
जारी लिगमा उनको यो तेस्रो गोल हो। यसअघि उनले फ्रेन्ड्स र मनाङविरुद्ध समान एक गोल गरेका थिए।
यस्तै, निरजको गोल जारी लिगको ५०औं गोल हो। लिगको २७औं खेलमा ५० गोलको आँकडा पूरा भएको हो।
१०औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा फोडे फोफानाको प्रहारलाई पुलिसका डिफेन्डरले ब्लक गरे। सोही मुभमा फोडे फोफानाको क्रस पासमा लक्ष्मणको प्रहारलाई सौजन राईले गोल लाइन नजिकैबाट हेडमार्फत् क्लियर गरे।
४३औं मिनेटमा रवि पासवानको क्रसमा बुद्ध बल तामाङको टचलाई संकटाका डिफेन्डरले ब्लक गर्दा सुमनको ओभरहेड किकलाई गोलरक्षक राजाबाबु थापाले बचाए। लगत्तै सन्तोष हेमरुनको प्रहारलाई निरज बस्नेतले ब्लक गर्दै संकटाको खतरा टारे।
दोस्रो हाफमा पुलिसले सुधारिएको खेल पस्केपनि गोल गर्न नसक्दा पुलिसले पहिलो लिगमा पहिलो हार बेहोर्न पुग्यो।
जितसँगै अपराजित रहेको संकटा ४ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। समान ८ अंक नै रहे पनि अर्को विभागीय टोली त्रिभुवन आर्मी गोलअन्तरमा तेस्रो स्थानमा छ। पहिलो हार बेहोरेको पुलिस ४ खेलबाट आठौं स्थानमा यथावत् छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।