माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षका प्रत्यासी ३ नेताहरु
काठमाडौं– नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश अध्यक्षमा तीन जनाले दाबी कायमै राखेका छन्। प्रदेश सभा सांसद विशाल खड्का, नेता डिपी ढकाल र सरल सहयात्री पौडेलले अध्यक्षमा दाबी गरेका हुन्।
अध्यक्ष पदका लागि सहमति जुट्न नसकेपछि काठमाडौंमा जारी बागमती प्रदेशको सम्मेलनबाट २७५ सदस्यीय प्रदेश समिति घोषणा गरिएको छ। यही समितिले अध्यक्षसहित ९ सदस्यीय पदाधिकारी केही दिनमा टुंगो लगाउने प्रदेश अध्यक्षका प्रत्यासी नेता पौडेलले जानकारी दिए।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७ भौगोलिक र २ गैरभौगोलिक प्रदेशको सम्मेलन उद्घाटन गरेपछि अहिले बन्दसत्र हुँदै नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ।
बागमती प्रदेशमा माओवादीले सकेसम्म सर्वसम्मतिमै नेतृत्व चयन गर्न जोड दिने भनेको छ। तर, ३ जनाले आफ्नो दाबेदारी कायमै राखेपछि सहमति जुट्न नसकेको हो।
प्रदेश अध्यक्षका दाबेदार खड्का दोलखाबाट प्रदेश सभाका सांसद हुन्। उनी माओवादी युद्धका शहीद रितबहादुर खड्काका कान्छा भाइ हुन्।
अर्का दाबेदार पौडेल सिन्धुपाल्चोकका हुन्। साहित्य क्षेत्रमा पहिचान बनाएका उनी जिल्लाका चर्चित नेता भएको माओवादी कार्यकर्ताहरु बताउँछन्।
अध्यक्षका अर्का दावेदार ढकाल भक्तपुरका हुन्। उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा स्थान बनाएका नेता हुन्। प्रदेश सभाको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।