काठमाडौं– उपाधि दावेदार थ्रीस्टार क्लबलाई बराबरीमा रोक्दै एपीएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो अंक जोडेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा एपीएफले थ्री स्टारलाई गोलरहित बराबरीमा रोक्दै लिगमा पहिलो अंक बटुलेको हो।
खेलको २९औं मिनेटमा हेमन्त थापामगरको कर्नरमा राफयल रिमगागोको हेडर पोस्टमाथिबाट बाहिरियो।
३०औं मिनेटमा मणि कुमार लामाको फ्रिकिकलाई थ्री स्टारका गोलरक्षक प्रिसोले मुस्किलले नियन्त्रणमा लिँदा एपीएफले अग्रताको मौका खेर फ्याँक्यो।
दोस्रो हाफमा थ्री स्टारले कुनैपनि समय एपीएफको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन।
लिगमा थ्रीस्टारको चौथो खेलमा यो दोस्रो बराबरी हो। यसअघि थ्रीस्टारले फ्रेन्ड्ससँग १–१ गोलको बराबरी खेल्दा च्यासलमाथि ३–० को जित र सातदोबाटोसँग १–० को हार बेहोरेको थियो।
बराबरीसँगै थ्री स्टारको ४ खेलबाट ५ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। समान ५ अंक भएपनि संकटा, पुलिस र एनआरटीलाई गोल अन्तरमा पछि पारेको हो।
यता,एपीएफले सुरुवाती तीन खेलमा नै हार बेहोरेको थियो। एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२, च्यासलसँग १–० ले तथा सातदोबाटोसँग ४–१ ले पराजित भएको थियो।
१ अंक बटुलेको एपीएफले एक स्थान सुधार गर्दै १३औं स्थानमा उक्लिएको छ। पुछारको जावलाखेल अंकविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।