काठमाडौं– नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा तीन जनाले दाबी कायमै राखेका छन्। प्रदेश सभा सांसद विशाल खड्का, नेता डिपी ढकाल र सरल सहयात्री पौडेलले अध्यक्षमा दाबी गरेका हुन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सात भौगोलिक र दुई गैरभौगोलिक प्रदेशको सम्मेलन उद्घाटन गरेपछि अहिले बन्दसत्र हुँदै नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ।
काठमाडौंमा जारी बागमती प्रदेशको सम्मेलनअन्तर्गत आइतबार बन्दसत्रको 'छलफल' सकिएर नेतृत्व चयनको प्रकिया सुरु भएको एक नेताले जानकारी दिए। माओवादीले सकेसम्म सर्वसम्मतिमै नेतृत्व चयन गर्न जोड दिने भनेको छ।
तर, बागमती प्रदेश अध्यक्षका लागि ३ जनाले आफ्नो दाबेदारी कायमै राखेपछि सहमति हुन सकेको छैन।
प्रदेश अध्यक्षका दाबेदार खड्का दोलखाबाट प्रदेश सभाका सांसद हुन्। उनी माओवादी युद्धका शहीद रितबहादुर खड्काका कान्छा भाइ हुन्।
अर्का दाबेदार पौडेल सिन्धुपाल्चोकका हुन्। साहित्य क्षेत्रमा पहिचान बनाएका उनी जिल्लाका चर्चित नेता भएको माओवादी कार्यकर्ताहरु बताउँछन्।
अध्यक्षका अर्का दाबेदार ढकाल भक्तपुरका हुन्। उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा स्थान बनाएका नेता हुन्। प्रदेश सभाको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी पराजित भएका थिए।
यस्तै, काभ्रेका दिनानाथ गौतमले पनि अध्यक्ष दाबी गरेका छन्। तर, उनको सम्भावना कम देखिएको माओवादी नेताहरुको भनाइ छ। प्रदेश अध्यक्षमा सर्वसम्मत नभएमा निर्वाचन गर्नुपर्ने नेताहरुले बताएका छन्।
यसअघि बागमती प्रदेश अध्यक्षमा नारायण दाहाल र सचिवमा अञ्जना विशंखे थिए। दुवै जना केन्द्रीय सदस्य बस्ने भएपछि प्रदेशको जिम्मेवारी छोडेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।