काठमाडौं– पछिल्लो केही हप्ताबाट सेयर बजार निरन्तर ओरालो लागेको छ। गत साता निरन्तर ओरालो लागेको सेयर बजार यो साता कारोबारको पहिलो दिन पनि ओरालो लागेको छ।
कारोबारको पहिलो दिन आइतबार पुँजी बजार मापक नेप्से परिसूचक ८८.७० अंकले घटेर २३६१.२७ बिन्दुमा झरेको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार मापक परिसूचक नेप्से ५.८४ अंकले घटेर २,४४९.९७ को विन्दुमा पुगेको थियो।
आज समग्र नेप्से ३.६२ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जानकारी दिएको छ। साताको पहिलो कारोबार दिन कारोबार रकम तीन अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँमा भएको छ।
कारोबार रकम भने गत साताको अन्तिम दिन बिहीबार भन्दा केही बढेको छ। गत साताको बिहीबार २ अर्ब ६७ करोड ३३ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
नेप्सेका अनुसार आज कूल २२८ वटा कम्पनीका ७२ लाख २३ हजार २४० कित्ता सेयर ४९ हजार ७१० पटक किनबेच भएका थिए। आज कारोबारमा आएका १३ वटै समूहको सेयर मूल्य ओरालो लागेको छ।
आज ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १५.१५ अंकले घटेर ४५०.०८ विन्दुमा ओर्लिएको छ।
आज सबैभन्दा धेरै व्यापारिक र विकास बैंक समूहको सेयर मूल्य सबै भन्दा धेरै घटेको छ। यता १९ करोड ७७ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा मञ्जुश्री फाइनान्स अग्रस्थानमा रहेको छ। दोस्रो र तेस्रोमा नेसनल हाइड्रोपावर र नबिल बैंक परेका छन्।
आज कारोबारमा आएका २२८ कम्पनीमा १२ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको सेयर मूल्य घटेको छ। आज कारोबारमा आएको स्वावलम्बन लघुवित्तको सेयर मूल्य सबै भन्दा धेरै बढेको छ। यस कम्पनीको सेयर मूल्य यस दिन २ प्रतिशतको दरले बढेको छ।
यस्तै, आज सबै भन्दा धेरै नयाँ सारथी लघुवित्त वित्तीय संस्थको सेयर मूल्य घटेको छ। यस कम्पनीको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्स कम्पनी र लक्ष्मी म्यूअचल फन्डको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको नेप्सेले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।