काठमाडौं- नेकपा एमालेले केन्द्रीय कमिटीमा ४४ जनालाई मनोनयन गरेको छ।
आइतबार भक्तपुरस्थित गट्ठाघरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मनोनित गर्ने केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका थिए। प्रस्ताव गरिएको नामलाई बैठकले अनुमोदन गरेको हो।
यससँगै एमालेमा दुर्गा प्रसाईंसहित ४४ केन्द्रीय सदस्य मनोनित भएका छन्।
केन्द्रीय कमिटीमा थप्न प्रस्ताव गरिएको नामलाई लिएर असन्तुष्टि व्यक्त भएको थियो। केन्द्रीय कमिटीमा थप गर्नका लागि विशाल भट्टराई, लालबाबु पण्डित, दुर्गा प्रसाईं लगायतको नाम प्रस्ताव गरिएको थियो।
तीमध्ये ३० जना विधानले दिएको सुविधा (दश प्रतिशत) र ९ जना एकीकरण प्रक्रियाबाट आएकाहरुको नाम प्रस्ताव गरिएको थियो। तर, छलफल बिना नै नाम प्रस्ताव गरिएको भन्दै अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट लगायतले असन्तुष्टि जनाएका थिए। तर अन्तिममा नाम अनुमोदन भएको हो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।