गजुरी– पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकै मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
आइतबार बिहान बा४४प ९८३६ नंको पल्सर मोटरसाइकल र बा६३प ४८३४ नंको स्कुटर एकापसमा ठोक्किएको थियो। मोटरसाइकललाई ना६ख ७४९ नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।
दुर्घटनामा परी मोटरसाइकलमा सवार बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुकबहादुर चेपाङको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा परी घाइते भएका सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्र वाइबा र २८ वर्षीय सोनाम घलेको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
राजमार्गमा दुर्घटना भएपछि एक घण्टा यातायात अवरुद्ध भएको थियो। दुर्घटनाग्रस्त सवारीसाधन हटाएपछि यातायात सुचारु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।