काठमाडौं– नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिएर गलत रुपमा प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्।
शनिबार प्रदेश सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले प्रचण्डकै नेतृत्वमा क्रान्तिकारी पार्टी रुपान्तरण गरेर समाजवादमा पुग्नु पर्ने बताए।
‘प्रचण्ड र प्रकाशबीच दूरी बढ्यो। खटपट भयो। अन्तरविरोध बढ्यो भनेर प्रचार भइरहेको छ। त्यो प्रचार किन भइरहेको छ? त्यो प्रचार तीन कोणबाट भइरहेको छ,’ श्रेष्ठले भने,‘एउटा यो पार्टी मात्रै वैचारिक संस्कृतिक रुपान्तरण गरेर क्रान्तिको नेतृत्व गर्नसक्ने सम्भावना छ। प्रचण्डको नेतृत्वमा सहिदको सपना पूरा गर्नका लागि परेका छौं। यसलाई भाड्नको निम्ती देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेतृत्वको बीच फाटो पार्न चाहन्छन्।’
पार्टीमा समस्या भएपनि त्यसलाई देखाएर गैरपार्टी प्रवृत्ति, गैरक्रान्तिकारी प्रवृत्ति नेतृत्वका बीच फाटो पारेर केही व्यक्तिगत स्वार्थ पूरा गर्न लागिपरेको श्रेष्ठको जिकिर छ।
आफूलाई रुपान्तण गर्न नचाहे प्रवृत्तिले नेतृत्व र आफ्नोबीच प्रचारप्रसार गरेको हुनसक्ने उनले दाबी गरे। ‘नेतृत्व र अरु नेताबीच बहस हुन सक्छ। त्यो द्धन्द्धात्मक सम्बन्ध हुन्छ। मूलभुत रुपमा एकता आलोचनात्मक चेत हुन्छ,’ श्रेष्ठले भने, ‘यस म्यान र नोम्यानहरुको पार्टी कसैले ठानेको छ भने चिन्तनगत रुपमै त्रुटी छ। त्यसकारण समस्या उत्पन्न भएको हुन सक्छ।’
नेतृत्वसंग मतभेद भएपनि लुकाएर षड्यन्त्र गरेर नभई खुला रुपमा राखिने श्रेष्ठले बताए। प्रचण्डको नेतृत्वमा यो पार्टी रुपान्तरण गर्न संकल्पवद्ध हुनु पर्ने उनले विचार राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।