काठमाडौं– विश्व बैंकले अफगानिस्तानलाई २८० मिलियन अमेरिकन डलर रकम दिने भएको छ। संयुक्त राष्ट्रको खाद्य र स्वास्थ्य सेवाहरूका लागि जम्मा गरिएको कोषबाट उक्त रकम दिन लागिएको हो।
अगस्टमा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा आर्थिक सहायता रोकिएको छ। जसकारण अफगानिस्तान गहिरो मानवीय र आर्थिक संकटसँग जुधिरहेको छ।
विश्व खाद्य कार्यक्रमले अफगानिस्तानको आधाभन्दा बढी जनसंख्या भोकमरीको जोखिममा रहेको चेतावनी दिएको छ। ३० लाख बालबालिका कुपोषणको सिकार भएका छन्।
मुलुकमा चरम खडेरीका कारण गहुँबाली नष्ट भएको छ, आधारभूत उपभोग्य वस्तुको मूल्य आकासिएको छ र यसबीचमा तालिबानले सत्ता कब्जा गरेपछि पश्चिमी मुलुकबाट आर्थिक सहायता फिर्ता लिँदा मुलुकमा आर्थिक संकट गहिरिँदै गएको छ।
पश्चिमी देशहरूले तालिबान सरकारलाई आधिकारिक रूपमा मान्यता दिन अस्वीकार गरेका छन्। अमेरिका र अन्य देशहरूले आफ्नो बैंकमा जम्मा भएका अफगानिस्तानको सरकारी रकम करिब १० अर्ब डलर फिर्ता गर्न मागेका छैनन्। यससँगै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि देशको आर्थिक सहयोगमा प्रतिबन्ध लगाएका छन्।
विश्व खाद्य कार्यक्रमले अफगानिस्तानका २ लाख ३० हजार मानिसहरूलाई तत्काल खानाको आवश्यकता रहेको अनुमान गरेको छ। यसलाई पृथ्वीको सबैभन्दा खराब मानवीय संकट मानिएको छ।
विश्व बैंकले यो रकम संयुक्त राष्ट्रसंघीय निकाय विश्व खाद्य कार्यक्रम र युनिसेफलाई दिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।