काठमाडौं–मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। हिमालयन शेर्पा क्लबमाथि ३–० को सहज जित निकाल्दै मछिन्द्र शीर्ष स्थानमा पुगेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार सम्पन्न दिनको दोस्रो खेलमा मछिन्द्रको जितमा सुनिल बल, नुर्लान नोभ्रुजोभ र बिमल घर्तीमगरले गोल गरे।
सुनिलले पहिलो हाफमा तथा नुर्लान र बिमलले दोस्रो हाफमा गोल गरेका थिए। खेलको ११औं मिनेटमा नुर्लान नोभ्रुजोभको सशक्त प्रहार क्रसबारमा लाग्दै बाहिरिदा मछिन्द्र अग्रता लिनबाट चुक्यो।
रन्जित धिमालको क्रसलाई नुर्लानले वान भर्सेस वानको अवस्थामा गरेको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो।
२९औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाए। ओमोलाजा नुरेन करिमको फ्रिकिकमा गोलरक्षक पोजिसनभन्दा अघि बढ्दा सुनिलले वान टचमा गोल गरे।
जारी लिगमा सुनिलको यो तेस्रो गोल हो। ६७औं मिनेटमा नुर्लान नोभ्रुजोभले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सब्सिच्युट फरवार्ड बिमल घर्ती मगरले गोल गर्दै मछिन्द्रको जित पक्का गरे। उनी ७३औं मिनेटमा मनिष डाँगीको स्थानमा मैदान छिरेका थिए। बिमलले आन्द्रेस नियाले मैदानको मध्यभागबाट बल एक्लै अघि बढाउँदै क्लोज रेन्जबाट दिएको पासमा सहजै गोल गरे।
जितसँगै अपराजित रहेको मछिन्द्र ४ खेलबाट १० अंक जोडेको छ। दोस्रो स्थानको अपराजित मनाङको पनि १० अंक नै रहेको छ। पराजित शेर्पा ४ खेलबाट २ अंक जोडेर ११औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।