काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया हुँदै संसदीय अभ्यासमा आएपछि माओवादी आन्दोलनमा धूलो–मैलो लागेको बताएका छन्। संसदीय अभ्यासमा लागेको धूलो–मैलो टक्टक्याएर सफा गर्नुपर्ने उनको भनाइ छ।
भर्चुअल माध्यमबाट पार्टी प्रदेश सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले शरीरमा लागेको धूलो–मैलो सफा गरेर अघि बढ्ने कि नबढ्ने मुख्य चुनौती भएको बताए।
‘हामी कहीँ न कहीँ बाटो बिराएको जस्तो भएका छौं। कहीँ न कहीँ विचारमा, सिद्धान्तमा, निष्ठामा, उद्देश्यमा हाम्रो मिसनमा हामी कहीँ न कहीँ भड्किएका यात्री जस्ता भएका छौं,’ प्रचण्डले भने, ‘यो शान्ति प्रक्रियाको १०/१५ वर्षमा संसद्वादी दलहरूको समसर्ग र सहयात्राले हाम्रो शरीरमा थोरै फोहर–मैला जम्मा भएको छ। धूलो–मैलो लागेको छ। हामी त्यो धूलो–मैलो टक्टक्याउने कि नटक्टक्याउने? हामीले आफूलाई सफा गर्ने कि नगर्ने भन्ने मुख्य चुनौती देखा परेको छ।’
माओवादी विचारमा कहीँ न कहीँ अस्पष्ट भएकाले धूलो–मैलोमा फसेको प्रचण्डको भनाइ छ। ‘हामीबीच संगठनात्मक अराजकता, अस्तव्यस्तता देखा परेका छन्। विभिन्न रुपमा सांस्कृतिक कमजोरीहरू देखा पर्न थालेका छन्,’ प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।