काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी हुने दाबी गरेका छन्।
प्रदेश सम्मेलनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै प्रचण्डले विचारमा विकास र क्रान्तिकारी रुपान्तरण भएमा माओवादीलाई कसैले हराउन नसक्ने बताए। ‘हामी अर्कै जातका मान्छे हौं। हामी भेडासँग सँगत गर्दा भेडा जस्तै भयौं कि जस्तो कहिले काँही लाग्छ। हामी भेडा होइनौं। हामी सिंह नै हौं। हामी सिंह जस्तै गर्जिनु पर्छ। सबै आ-आफ्नो ठाउँमा गर्जियौं’ प्रचण्डले भने, ‘आगामी चुनावमा एक नम्बर भएर देखाउने हो। युवा विद्यार्थी महिला सबै कमरेडहरुलाई भन्न चाहन्छु आक्रमक ढंगले प्रस्तुत हुनुहोस्। क्रान्तिकारी भएर आयौं भने दक्षिणपन्थी बुर्जुवा विदेशी दलालहरुले केही गर्न सक्दैनन्।’
माओवादीलाई आफ्नै खुट्टामा उभिने र आफ्नै संगठनमा बलियो बनाउन लाग्नु पर्ने प्रचण्डले बताए। ‘हामी सबैले एकै पटक संकल्प गर्नुपर्यो। हामीलाई हेपिएको छ। हामी आफैं कन्फ्युज भएकाले हेपिएका छौं’ प्रचण्डले भने, ‘हामीमा भित्रैबाट उज्यालो ज्योती बलेर आयो भने यो देशको भविष्य र सर्वहाराको भविष्य तय हुने छ। त्यसपछि माओवादीलाई हराउन सक्ने तागत कसैसँग हुने छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।