काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिज लिगअन्तर्गत चौथो राउन्डको खेलमा न्यूरोड टिम (एनआरटी)सँग नवप्रवेशी सातदोबाटो युथ क्लब पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको दिनको पहिलो खेलमा सातदोबाटो १–० गोल अन्तरले पराजित भएको हो।
खेलको १६औं मिनेटमा आकाश बुढामगरको फ्रिकिकलाई एनआरटीका डिफेन्डरले क्लियर गर्दै बचाए। ४४औं मिनेटमा स्टेफन समिर विनोङको प्रहारलाई सातदोबाटोको कप्तान मानबहादुर तामाङले बचाए।
दोस्रो हाफको १५ सेकेन्डमै स्टेफन समिर विनोङले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए। करण रावतको मिस पासलाई मेसुके ओलुमोउले नियन्त्रणमा लिँदै दिएको पासमा स्टेफनले सहजै गोल गरे।
५९औं मिनेटमा स्टेफन समिरको प्रहारलाई गोलरक्षक अभिषेक बरालले पञ्च गर्दै बचाए। ८३औं मिनेटमा अजायी मार्टिन्सको क्रसलाई विवेक गुरुङले क्लियर गर्दिए।
यस हारसँगै सातदोबाटोले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। सातादोबाटो ४ खेलबाट ७ अंकसहित तेस्रो स्थानमा रहेको छ। लिगमा पहिलो जित निकालेको एनआरटी ४ खेलबाट ५ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।