काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक दिउँसो १ बजेलाई सरेको छ। आज बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने कार्यतालिका रहे पनि त्यसलाई १ बजे सारिएको केन्द्रीय कार्यालय सचिव एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए।
केन्द्रीय कमिटी बैठकअघि ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने तामाङले बताए। सचिवालय बैठकले केन्द्रीय कमिटीमा लैजाने अजेण्डाको बारेमा छलफल गर्ने उनको भनाइ छ।
आज दिउँसो १ बजे भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा सुरु हुने बैठक भोलिसम्म बस्ने कार्यतालिका रहेको छ। एमालेको १०औं राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने भएको हो।
बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव तामाङले जानकारी दिए। बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्यविभाजन र प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुने उनले जानकारी दिए।
एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयताक्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियान पनि बैठकका अजेण्डा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।