काठमाडौं- सिभिल बैंकले शुक्रबारबाट 'सिभिल बैंक डिबेञ्चर २०८८' सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।
बैंकले १०.२५ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिका लागि डिबेञ्चर निष्काशन गरेको हो। प्रतिडिबेञ्चर एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता डिबेञ्चर बिक्री खुला गरिएको छ।
उक्त डिबेञ्चर कूल तीन अर्ब रुपैयाँ बराबरको रहेको छ। कूल डिबेञ्चरमध्ये १२ लाख कित्ता अर्थात् एक अर्ब २० करोड रुपैयाँ ऋणपुँजी रकम सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने तथा १८ लाख कित्ता डिबेञ्चरले हुन आउने एङ्क अर्ब ८० करोड रुपैयाँ ऋणपुँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।
सर्वसाधारणले कम्तीमा २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म यस ऋणपत्र खरिद गर्न सक्ने छन्। नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत प्रदान गरिएको यस ऋणपत्रमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने जनाएको छ।
नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत भइ किनबेचसमेत गर्न सकिने बैंकले जनाएको छ। सर्वसाधारणले आफूले खरिद गर्न चाहेको ऋणपत्र सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमार्फत् दरखास्त फाराम प्राप्त गर्न र बुझाउन सक्ने छन्।
ऋणपत्रको निष्काशन मङ्सिर २४ गते खुला भइ छिटोमा मङ्सिर २८ गते तथा ढिलोमा पुस ९ गते बन्द हुने बैंकले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।