काठमाडौं– नेकपा (माओवादी केन्द्र)को शनिबार हुने प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। ७ भौगोलिक र ३ गैर-भौगोलिक प्रदेश सम्मेलनको तयारी पूरा भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको हो।
सबै प्रदेश सम्मेलन उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार दिउँसो १ बजे गर्ने केन्द्रीय निर्वाचन आयोगका सदस्य गोबिन्द बटालाले बताए।
‘सबै प्रदेश सम्मेलनको तयारी पूरा भइसकेको छ। सात प्रदेश आ–आफ्नो प्रादेशिक राजधानीमा हुनेछ। अरु गैर-भौगोलिकको आफू अनुकल क्षेत्रमा सम्मेलन गर्ने भएका छन्,’ बटालाले भने।
शनिबार प्रचण्डले बागमती प्रदेशको सम्मेलन काठमाडौंबाट उद्घाटन गरेपछि अरु प्रदेशको जुममार्फत् भचुअल रुपमा उद्घाटन गर्ने भएका छन्।
शनिबार उद्घाटन भएपछि आइतबार बन्दसत्रसँगै सर्वसम्मत वा निर्वाचनमार्फत् प्रदेश कमिटी बन्ने छ। प्रदेश सम्मेलनबाट प्रदेश कमिटी बन्नुका साथै राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको समेत छनोट हुनेछ।
सहमति नभएका प्रदेशमा निर्वाचन गर्न ७ सदस्यीय निर्वाचन समिति बनाइएको छ। प्रदेश पदाधिकारीमा अध्यक्ष–१, उपाध्यक्ष- ३, सचिव- १ र सहसचिव- ३ र कोषाध्यक्ष- १ जना रहनेछन्। यस्तै, प्रदेश समितिमा न्यूनतम आधार संख्या १७५ मानिएको छ। प्रदेश र संघीय निर्वाचन क्षेत्रलाई आधार मानिएको छ।
कुन प्रदेश समितिमा कति सदस्य?
प्रदेश १- १७५ र ८४ गरी २५९
प्रदेश २- १७५ र ९६ गरी २७१
बागमती प्रदेश- १७५ र ९९ गरी २७४ हुने भए पनि बिजोर अंक राख्न २७५ कायम गरिएको।
गण्डकी प्रदेश- १७५ र ५४ गरी २२९
लुम्बिनी प्रदेश- १७५ र ७८ गरी २५३
कर्णाली प्रदेश- १७५ र ३६ गरी २११
सुदूरपश्चिम प्रदेश- १७५ र ४८ गरी २२३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।