काठमाडौं– नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेशप्रसाद खरेलले नयाँ पार्टी घोषणा गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन्।
पार्टीले एक विज्ञप्ति जारी गर्दै ३१ वर्षको राजनीतिक परिवर्तनको उमेरमा देशको राष्ट्रियता, समृद्धी, सुशासन, सार्वजनिक सेवा र राजनीतिक संस्कारले परिपक्वता हासिल गर्न नसकेको बताएको छ।
‘एउटा बलियो सुरूआत २०४७ सालबाट गणना गर्दा ३१ वर्षको राजनीतिक उमेर पूरा भइसकेको छ। तर, ३१ वर्षको राजनीतिक परिवर्तनको उमेरमा देशको राष्ट्रियता, समृद्धी, सुशासन, सार्वजनिक सेवा र राजनीतिक संस्कारले परिपक्वता त हासिल गरेन नै त्यो दिशातर्फ कुनै राजनीतिक दलको इच्छा शक्ति पनि देखिएन,’ विज्ञप्तिमा भनिएको छ,‘ फलस्वरूप देशमा सर्वत्र कमिशनतन्त्र, भ्रष्टाचार, बेथितिमात्रै मौलाइ रह्यो। नेपाली राष्ट्रियता,नेपालीबीचको एकता र भाइचारा नै धरासायी बनिरहेको छ। यस विषयलाई समेत गहनताका साथ लिनुपरेको छ।’
खरेलले ३० वर्षे कुशासनले देशलाई नउक्सिने खाडलमा जाकिदिको भन्दै यसबाट माथि उठ्न विद्यमान राजनीतिक दलहरूको चाहना नदिएको दाबी गरेका छन्। यही कारण आमनागरिकहरुबाट बुलन्द सुझाव आएकोले राजनीतिक दल गठन गर्नु परेको उनको जिकिर छ।
‘बिकराल अवस्थामा रहेको बेथितिको अन्त्य नहुने हुँदा राजनीतिको गतिलो विकल्प बन्नै पर्दछ भन्ने आमनागरिकहरुबाट बुलन्द सुझाव प्रतिक्रिया आएकोले राजनीतिक दल गठन गरी होमिने बाध्यता आइलागेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘ देशलाई दिशाहिन बनाएर हामीलाई नयाँ राजनीतिक दलदर्ता गर्न बाध्य पार्नुहुने विद्यमानदलहरु धन्यवादका पात्र हुनुहुन्छ।’
काठमाडौं अनामनगरस्थित युनियन हाउसमा बसेको नेपाल सुशासन अभियानको केन्द्रीय भेलाले रमेशप्रसाद खरेलको अध्यक्षतामा ४९ सदस्सीय केन्द्रीय कार्यसमिति पनि गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।