काठमाडौं– फरवार्ड जर्जप्रिन्स कार्की र मिडफिल्डर जगजित श्रेष्ठको गोलमा त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीले च्यासल युथ क्लबलाई २–० ले पराजित गरेको हो। जितसँगै ४ खेलबाट ८ अंक जोडेको आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
खेलको १९औं मिनेटमा जर्जप्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए। सन्तोष तामाङको पासमा टंक बस्नेतले गरेको क्रसलाई हेडरमार्फत् गोल गरेका थिए।
३६औं मिनेटमा जगजितले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे। गोलरक्षक अर्पण कार्कीले रिलिज गरेको बललाई गौतम श्रेष्ठले नियन्त्रणमा लिँदै दिएको क्रसलाई अनमार्क रहेका जगजितले वान टचमा गोल गरे।
४९औं मिनेटमा विवेक बस्नेतको क्रसमा जर्जप्रिन्स कार्कीको हेडर क्रसबारमा लागेर बाहिरिँदा आर्मीले अग्रता बढाउन सकेन।
जितसँगै आर्मी शीर्ष स्थानको मनाङ मर्स्याङ्दीभन्दा दुई अंकले पछि रहेको छ। मनाङको ४ खेलबाट १० अंक छ।
एक खेल कम खेलेको सातदोबाटो ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। दोस्रो हार बेहोरेको च्यासल ४ अंक जोडेर नवौं स्थानमा यथावत् रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।