काठमाडौं– दक्षिणी मेक्सिकोमा एउटा ट्रक पल्टिँदा कम्तीमा ५४ जनाको मृत्यु भएको छ। घटनामा अन्य १०० भन्दा बढी घाइते भएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार बिहीबार ग्वाटेमालासँग सीमा जोडिएको मेक्सिकोको चिआपस राज्यमा आप्रवासी बोकेको ट्रक दुर्घटना भएको हो।
चिआपस राज्यको राजधानी टक्सटला गुटिएरेज सहरबाहिर एउटा मोडमा ट्रक दुर्घटना भएको रोयटर्सले जनाएको छ। ट्रकमा डेढ सयभन्दा बढी आप्रवासी सवार थिए।
रोयटर्सले चिआपस राज्य सरकारलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारमा मृत्यु हुनेमा बालबालिका, महिला र पुरुष रहेका छन्।
रोयटर्ससँग कुरा गर्ने एक प्रत्यक्षदर्शीले भने,‘ बाँचेकाहरू रोइरहेका थिए।’ राज्यका गभर्नर रुटिलियो एस्क्यान्डनले ट्वीट गर्दै घटनामा १०५ जना घाइते भएको जानकारी दिएका छन्। घाइतेमध्ये ८३ जना पुरुष रहेका छन् भने २२ महिला रहेका छन्।
तीन जनाको अवस्था अझै गम्भीर रहेको उनले जानकारी दिए। मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले मारिनेमा केही विदेशी नागरिक रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।