काठमाडौं - उपाधि दावेदार मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–० ले पराजित गर्दै मनाङ शीर्षस्थानमा उक्लिएको हो।
अपराजित रहेको मनाङको ४ खेलबाट १० अंक पुगेको छ। एक खेल कम खेलेको सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबको समान ७ अंक छ।
मनाङको जितमा नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो अफिज र दिनेश राजवंशीले गोल गरे।
४१औं मिनेटमा आफिजले गोल गर्दै मनाङलाई पहिलो हाफमा १–० को अग्रता दिलाए। कप्तान अन्जन विष्टले दिएको क्रसलाई अनमार्क रहेका अफिजले क्लोज रेन्जबाट हेडरमार्फत गोल गरे।
५४औं मिनेटमा अन्तज विष्टले वान भर्सेस वानको वानको अवस्थामा गरेको प्रहार सिधै फ्रेन्ड्सका गोलरक्षक राहुलको हातमा पुग्यो। ७३औं मिनेटमा दिनेश राजवंशीले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे। पुजन उपरकोटीको फ्रिकिकलाई उनले हेडरमार्फत् सदुपयोग गरे।
७७औं मिनेटमा अनिल महर्जनको क्रसमा रोनेल एनथोनी पउलको हेडर पोस्ट नजिकैबाट बाहिरिदा फ्रेन्ड्स अग्रता कम गर्नबाट चुक्यो।
पराजित फ्रेन्ड्स १२औं स्थानमा झरेको छ। उसको ४ खेलबाट २ अंक छ। समान २ अंक नै रहेपनि फ्रेन्ड्स गोलअन्तरमा न्यूरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबसँग पछि परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।