काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारमा लगानी गर्नेहरुमा वित्तीय साक्षरताको कमि भएको बताएका छन्।
बिहीबार अर्थसमितिमा भएको छलफलमा अधिकारीले सेयर बजारमा बुझेकाभन्दा पनि नबुझेकाहरु बढी भएकोले यसले लगानीकर्तालाई जोखिम बढाएको बताए।
उनले लगानीकर्तालाई बुझेर मात्रै सेयर बजारमा लगानी गर्न आग्रह गरेका छन्। यस्तै, उनले सेयर बजार हेर्न निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरतामा पनि ध्यान दिनु पर्ने बताए।
उनले फण्डामेन्टल बाहिर रहेर सेयर बजार चलेको पनि बताएका छन्। ‘साना लगानीकर्ताहरुमा फण्डामेन्टल अध्ययन गरेर लगानी गर्ने चेत छैन, त्यसैले पनि जोखिम बढेको हो, साना लगानीकर्ताका लागि वित्तीय साक्षरताको आवश्यता छ,’ उनले भने।
छलफलमा उनले नेपालमा आउने रेमिट्यान्स अनौपचारिक क्षेत्रबाट आउने गरेको पनि धारणा राखेका छन्। सबैभन्दा बढी कोरिया र जापानबाट अनौपचारिक रुपले रेमिट्यान्स आयात हुने उनले बताए।
उनका अनुसार कोरिया र जापानबाट आउने रेमिट्यान्सको ९/१० प्रतिशत मात्रै औपचारिक माध्यमबाट आउने गरेको छ।
यस्तै, छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले अहिलेको अवस्थालाई त्यति धेरै समस्याको रुपमा लिनु नपर्ने धारणा राखे। उनले विगत तीन वर्षको ट्रेण्ड हेर्दा यस वर्षको सुरुमा व्यापक उछाल आएको बताए।
‘नेप्से परिसूचक ११ सयबाट १३ सयबाट सिधै ३२ सय प्सलसम्म पुगको छ, राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितोमा ४/१२ करोड रुपैयाँको सीमा नराखेको भए झनै समस्या आउँथ्यो, यो स्वभाविक हो,’ उनले भने।
उनले पनि लगानी गर्नेले कम्पनीको अवस्था हेरेर मात्रै लगानी गर्न पनि सुझाव दिए। ‘निर्माण सम्पन्न नभएका र ऋणमा चलेका कम्पनीहरुको सेयर मूल्यमा उछाल छ, राम्रो कम्पनीमा खासै चासो छैन, कमसेकम अध्ययन गर्ने बानी गर्नु पर्यो,’ उनले भने।
यस्तै, छलफलमा सासंद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजारमा साना लगानीकर्तालाई जोखिम बढेको बताए।
उनले ठूला लगानीकर्ताले साना लगानीकर्तालाई झुक्याउने खेल खेल्दा साना लगानीकर्ताको लगानी नै डुब्ने अवस्था र्सिजना भएकोले यो प्रवृतिको अन्त्य गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण पनि गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।