काठमाडौं– अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत (हाल अवकाशप्राप्त) उद्धव प्रसाद थपलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। थापाले ३५ वर्षको सेवा अवधिमा गैरकानुनी रुपमा १ करोड ६४ लाख ८९ हजार ७ सय रुपैयाँ कमाएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।
२०४० साल फागुन ०६ देखि २०७५ चैत ३० सम्मको जाँच अवधिमा सिर्जित सम्पत्ति एवं खर्च तथा लगानीहरुमा गरिएको कूल खर्च र सोही अवधिको आय–व्ययको प्रवाह विवरण बचतअनुसार जाँच अवधिमा १ करोड ६४ लाख ८९ हजार ७ सय रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले गरेको अनुसन्धान थपलियाको वैध आय १ करोड २ लाख ८२ हजार २ सय ५८ रुपैयाँ देखिएको छ। सोही अनुपातमा सोही अवधिमा उनले सिर्जना गरेका सम्पत्ति एवं खर्च तथा लगानीहरु २ करोड ६७ लाख ७१ हजार ९ सय ५८ देखिएको अख्तियारले जनाएको छ।
वैध आयभन्दा बढी देखिएको १ करोड ६४ लाख ८९ हजार ७ सय बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आएको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
थपलियालाई अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवम् भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूरमा कैद सजाय र १ करोड ६४ लाख ८९ हजार ७ सय रूपैयाँ बिगो र सोही बराबर जरिवाना हुनुपर्ने मागदाबी गरेको छ।
थपलियाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्त थपलियाको नाममा समेत राखेको भेटिएको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ। अख्तियारले थपलियाकी श्रीमती मुनालाई पनि विपक्षी बनाउँदै उनको नाममा भएका घरजग्गा तथा बैंक खाताहरुमा मौज्दात रकम जफत गर्न मागदाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।