काठमाडौं - नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर नै चलेकाले तीन सदस्य कार्यदल बनाएको बताएका छन्।
बिहीबार पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग महराले विभिन्न पार्टीबाट प्रवेश गर्नेहरुको अध्ययन गरेर उचित जिम्मेवारी दिन कार्यदल बनाइएको बताए।
पार्टीमा नवप्रवेशीका विषयमा अध्ययन गर्न स्थायी समिति सदस्य देव गुरुङ, गिरिराजमणि पोखरेल र केन्द्रीय सदस्य श्रीराम ढकालसहित तीन सदस्य समिति बनाइएको महराले बताए।
‘माओवादीमा प्रवेश गर्नेहरुको लहर नै चल्यो। उहाँहरुलाई यो समितिले मसिनो गरी अध्ययन गर्ने छ। उहाँहरुको अध्ययनका आधारमा पार्टीमा उचित जिम्मेवारी दिइने छ’ महराले भने,‘कांग्रेस, एमाले लगायत विभिन्न पार्टीबाट प्रवेश गर्नेहरु कतिपयले राम्रो जिम्मेवारी पाएका छन् भने कतिपय जिम्मेवारी नै नपाएर बस्नु परेको छ। यस्तो अवस्थामा क्षमता अनुसार नवप्रवेशीले जिम्मेवारी पाउने छन्।’
नेता बन्न पार्टी छाडेर, एकतामा जोडिएर माथिल्लो पदमा दाबी गर्न थालेपछि माओवादीले नवप्रवेशीहरुलाई क्षमता अनुसार जिम्मेवारी दिने व्यवस्था गर्न लागेको हो।
यस समितिले केन्द्र, प्रदेश, जिल्ला र पालिका सबै स्तरमा प्रवेश गर्ने नेताहरुको रेकर्ड राख्नुका साथै उचित जिम्मेवारी दिन सिफारिससमेत गर्ने महराले बताए।
माओवादीले नवप्रवेशीलाई पार्टीमा उचित सम्बोधन गर्न पहिलो पटक कार्यदल बनाएर व्यवस्थित गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।