काठमाडौं– फिल्मको सिक्वेलबारे निर्देशक केपी पाठक भन्छन्, ‘एउटै फिल्ममा आफूले भन्न खोजेको कथा सकिएन भने अर्को भाग बनाएर भन्नु नै सिक्वेल हो।’
उनले भनेजस्तै साढे दुईदेखि तीन घण्टाको फिल्ममा नअटाएको कथा देखाउन दोस्रो वा त्यसभन्दा बढी भाग निमार्ण गरिनु नै सिक्वेल हो। तर, पछिल्लो समयमा नेपाली कलाक्षेत्रमा भने सिक्वेल नाम मात्रैको हुने गरेको छ। चलेका फिल्मको नामलाई प्रयोग गरेर फरक कथामा ‘सिक्वेल’ बनाउने क्रम बढेको छ।
एक दशकदेखि निरन्तर बढ्न थालेको सिक्वेल निर्माण अहिले केही चलचित्रकर्मीहरु आफ्नो ‘मूल धन्धा’कै रुपमा लिएर हिँडेका छन्। तर, यसरी बनेका अधिकांश सिक्वेलहरूले व्यवसायिक र समीक्षात्मक रुपमा सफलता हात पारेका छैनन्।
दीपकराज गिरी र दीपाश्री निरौलाको समूहको ब्राण्ड बनेको फिल्म हो, ‘छक्का पञ्जा।’ टेलिसिरियलमा जमेको जोडीले टेलिभिजनमा चलेका कलाकारलाई लिएर फिल्म बनाएका थिए। उनीहरुले ‘वडा नम्बर ६’, ‘छ माया छपक्कै’ र ‘शत्रु गते’बाहेक ‘छक्का पञ्जा’कै नामबाटै फिल्म बनाइरहेका छन् र बिकिरहेका पनि छन्। चलेको फिल्मको नाम मात्रै प्रयोग गरिनु र अघिल्लो फिल्मको कथालाई निरन्तरता नदिनुले ‘छक्का पञ्जा’पछि आएका ‘छक्का पञ्जा २’, ‘छक्का पञ्जा ३’ नाम मात्रैका सिक्वेल भएको देखिन्छ। एउटै नामका पछिल्ला फिल्ममा पहिलो फिल्मको कथालाई कुनै पनि रूपमा जोड्न खोजिएको छैन।
२०६३ सालमा प्रदर्शनमा आएको फिल्म ‘पर्खी बसें’ले व्यापारिक रूपमा निकै सफलता हासिल गरेको थियो। त्योबेला नयाँ कथा नयाँ शैलीमा नै प्रस्तुत गर्दा निर्देशक दीपक सापकोटाले सफलता पाएका थिए। राजबल्लव कोइराला र युना उप्रेतीजस्ता नयाँ अनुहारलाई लिएर बनाइएको फिल्ममा निर्माताका लागि जोखिम थियो। तर, ‘म्युजिकल रोमान्स’ विधाको यो फिल्म सिनेमा हलमा सय दिनभन्दा धेरै प्रदर्शन भएको थियो।
‘पर्खी बसें’ प्रदर्शनमा आएको १५ वर्ष भइसकेको छ। दुई वर्षअघि यो फिल्मको सिक्वेल बन्ने घोषणा भएको थियो। अघिल्लो फिल्म बनाएकै कम्पनी ‘गोपीकृष्ण मुभिज’का तर्फबाट निकिता पौडेल र विनोद सापकोटाले ‘पर्खि बसें २’ बनाउने घोषणा गरेका थिए। यसको कथा लेखन र निर्देशन सौरभ चौधरीले गर्ने घोषणा भएको थियो।
रमित ढुंगानाले डेब्यू गरेको फिल्म ‘माया नमार’को पनि सिक्वेल बनाउने घोषणा ढुंगाना आफैंले गरेका छन्। उनले २०५८ मा उक्त फिल्ममार्फत डेब्यू गरेका थिए। सिक्वेलमा भने छोरा ओजस्वी ढुंगानालाई डेब्यू गराउने उनको घोषणा छ।
यी मात्रै त्यस्ता फिल्म होइनन्, जसको सिक्वेल डेढ वा दुई दशकपछि बनाउने घोषणा भएको हो। पुस २ गतेबाट प्रदर्शनमा आएको ‘चपली हाइट ३’ को पहिलो फिल्म २०६८ सालमा प्रदर्शनमा आएको थियो। त्यति बेला यो फिल्मले निकै चर्चा कमाएको थियो।
शिव रेग्मीको निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर’को सिक्वेल १४ वर्षपछि निर्माण गरिएको थियो। रेग्मीकै लेखन रहेको ‘ए मेरो हजुर’ २०५८ मा प्रदर्शनमा आएको थियो। श्रीकृष्ण श्रेष्ठ र झरना थापा मुख्य भूमिकामा रहेको फिल्ममा गणेश उप्रेती, किरण केसी, सुशील पोखरेललगायतको अभिनय थियो। ‘ए मेरो हजुर’लाई सफल फिल्म मानिन्छ। श्रीकृष्ण र झरनाको अभिनयलाई दर्शकले निकै रुचाएका थिए। फिल्मलाई सुनिलकुमार थापाको लगानीमा बनेको थियो।
१४ वर्षपछि ‘ए मेरो हजुर’को सिक्वेल बन्यो। ‘ए मेरो हजुर २’मा साम्राज्ञी राज्यलक्ष्मी शाह र सलोन बस्नेतलाई मुख्य भूमिकामा राखेर झरना थापाले निर्देशन गरेकी थिइन्। अम्बर सुवेदी, सुमन पौडेल, अनुभव रेग्मी, बुद्धि तामाङलगायतको अभिनय थियो। हरिहर अधिकारीको कथा रहेको फिल्मलाई झरनाकै श्रीमान् सुनिलकुमार थापाले निर्माण गरेका थिए।
दोस्रो सिक्वेल भने व्यवसायिक रूपमा सफल हुन सकेन। त्यसपछि पनि झरनाले ‘ए मेरो हजुर’कै नाममा तेस्रो फिल्म बनाइन्। पहिलेकै ब्यानरमा बनाइएको ‘ए मेरो हजुर ३’मार्फत उनकी छोरी सुहानाले फिल्ममा डुब्यू गरिन्। मुख्य भूमिकामा अनमोल केसी, सलोन बस्नेतलगायत कलाकार थिए। दर्शकले रुचाए पनि यसलाई समीक्षकहरूले रुचाएनन्। यी फिल्ममा पुरानै नाम प्रयोग भए पनि पुरानो कथाको निरन्तरता भने छैन।
झरनाले ‘ए मेरो हजुर’लाई प्रयोग गरि चौथो फिल्मसमेत बनाएकी छिन्, जुन प्रदर्शनको प्रतीक्षामा छ। सुहाना र अनमोल नै प्रमुख भूमिकामा रहेको ‘ए मेरो हजुर ४’ आगामी चैत्र २५ गतेबाट प्रदर्शन हुने भनिएको छ।
रामबाबु गुरुङको निर्देशनबाट सुरु भएको ‘कबड्डी’ फिल्मको चौँथो सिक्वेल अहिले छायांकन भइरहेको छ। त्यस्तै, ‘चपली हाइट’, ‘जात्रा’, ‘नाइ नभन्नु ल’, ‘होस्टेल’, ‘दपर्ण छायाँ’, ‘लुट’, ‘प्रेम गीत’, ‘सायद’जस्ता कैयौं नेपाली फिल्महरूको सिक्वेल बनेका छन्। तर, अधिकांशमा पुरानो कथाको निरन्तरता छैन।
निर्माता/निर्देशकका लागि ‘सेफ जोन’
दशकभन्दा अघि प्रदर्शनमा आएका फिल्मको सिक्वेल किन बनाउन मरिहत्ते गरिरहेका छन् त निर्माता/निर्देशकहरु? यो पाटो फिल्मको कमाइसँग जोडिने निर्देशक पाठक बताउँछन्।
जति पनि सिक्वेल बनेका छन्, ती नामका पहिलो फिल्म आफ्नो समयमा प्रायः चलेका थिए। त्यति बेला ‘हिट’ भएका फिल्मको नाममा फरक कथामा फिल्म बनाउनु सिक्वेल नभए पनि निर्माता/निर्देशकले लगानी सुरक्षित गर्ने जुक्ति भएको निर्देशक पाठक बताउँछन्। उनी भन्छन्, ‘अहिले फरक कथा हुँदा पुरानै नाममा फिल्म बनाउन किन आवश्यक हुन्थ्यो? नयाँ कथामा नयाँ नाम हुनुपर्ने हो। तर, पुरानो चलेको फिल्मको नामकै कारण पनि दर्शक नयाँ फिल्म हेर्न आउने र आम्दानी गर्ने भन्ने उद्देश्य देखिन्छ।’
चलचित्रकर्मी आफूमा आत्मविश्वास नहुँदा चलेको फिल्मको नामलाई लिएर फरक कथामा फिल्म निर्माण भइरहेको पाठकको भनाइ छ। चलेको फिल्मको ‘नाम’मा फिल्म बनाउँदा दर्शकलाई पनि सिलेमा हलसम्म पुग्न सहजता सिर्जना हुने उनी बताउँछन्। ‘सबै फिल्मको सिक्वेल बन्दैन,’ पाठक भन्छन्, ‘जुन फिल्म चलेको हुन्छ, त्यसैको मात्र सिक्वेल बन्छ। यो भनेको व्यावसायिक आशा र फिल्मकर्मी आफूमा आत्मविश्वासको कमि हो। यो नितान्त व्यावसायिक पाटो मात्रै हो।’
पाठक आफूले हेरेका ‘सिक्वेल’ भनिएका नेपाली फिल्म वास्तवमा ‘सिक्वेल’ नै नभएको बताउँछन्। ‘सिक्वेल’का नाममा आएका फिल्मका कथा नै फरक भएकाले नयाँ नाम दिन मिल्ने खालका भएको उनको भनाइ छ। नयाँ शैलीमा नयाँ फिल्म बनाइरहेका निर्माता/निर्देशकहरु भने ‘नाम मात्रैका सिक्वेल’का कारण मारमा परेको उनको भनाइ छ। उनी भन्छन्, ‘दर्शकले फिल्म हेर्न जाँदा चलेको नामकै सिक्वेल हो भन्ने सुनेर जान्छन्। यसले नयाँ सिर्जनालाई दर्शकसम्म पुग्ने माहोल नै निर्माण हुन दिदैंन।’
निर्देशक दिपेन्द्र लामा फिल्मको कथाले मागेमा सिक्वेल बनाउन कुनै आपत्ति नहुने बताउँछन्। फिल्मको कथाले माग्दा संसारभरि नै सिक्वेल निर्माण भइरहेको उनको भनाइ छ। अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त निर्देशक फ्रेन्सिस फोर्ड कप्पोलाको ‘द गडफादर’, भारतीय निर्देशक सत्यजित रायको ‘पाथेर पञ्चाली’ अन्तर्गतका तीन फिल्मको ‘ट्रियोलोजी’ सिक्वेल नै भएको र सफल पनि भएको उनी बताउँछन्।
‘सिक्वेल बनाउनु नराम्रो होइन,’ लामा भन्छन्, ‘तर, विदेशमा सिक्वेल बनाउँदा हरेकको एउटा अर्थ हुन्छ। कथाको निरन्तरता हुन्छ, जुन कथाले नै मागेको हुन्छ। तर, हाम्रोमा पुरानो नामलाई प्रयोग गरेर कथा पनि नमिल्ने र पुरानोसँग नजोडिने गरी बनेको हुन्छ।’ ‘ए मेरो हजुर’ सिरिजका फिल्ममा कथालाई निरन्तरता दिने वा कथा मिल्ने कुनै पनि विशेषता नभएको उनी बताउँछन्। त्यस्तै ‘नाइ नभन्नु ल’ सिरिजमा पनि कथाको निरन्तरता नभएको उनको भनाइ छ।
कथा अलग हुँदा नाम पनि फरक हुनुपर्ने लामा बताउँछन्। तर, बजारमा बिकाउनका लागि उही नाममा फिल्म बनिरहेको उनको भनाइ छ। ‘कथा राम्रो भएपछि जस्तै नाममा पनि दर्शक आउँछन्। नामको सिक्वेल हुँदैमा दर्शक आउने हुँदैन,’ उनी भन्छन्। सिक्वेलका नाममा बनेको कतिपयपय नेपाली फिल्म असफल नै भएको उनी बताउँछन्।
‘नाइ नभन्नु ल ४’, ‘लुट २’, ‘सायद २’, ‘दपर्ण छाया २’ असफल भएको निर्देशक लामाको भनाइ छ। निरन्तर सिक्वेल बन्नुको कारण निर्देशक/निर्माताले फिल्मलाई कलाको रूपमा नभएर बजार र व्यवसायिक रूपमा बुझ्नु नै मुख्य कारण रहेको उनी बताउँछन्। ‘सिक्वेलको नाम झुण्डाउँदा दर्शक धेरै आउँछ भन्ने भ्रम छ,’ लामा भन्छन्, ‘अर्को त फिल्मलाई कला नभएर व्यवसायको रुपमा लिने चलन छ। यो कारण पनि फिल्मको सिक्वेल भन्दै ब्राण्ड र नामको पछि लागिएको छ। फिल्मको भित्री कुरामा ध्यान नदिएर बक्स अफिसमा ध्यान दिएपछि बन्ने यस्तै सिक्वेल नै हुन्।’
वास्तवमै बनेका यी सिक्वेलहरू
केही फिल्मका भने वास्तवमै सिक्वेल पनि बनेका छन्। ‘लुट’ र ‘जात्रा’ पछि बनेका ‘लुट २’ र ‘जात्रै जात्रा’ अघिल्ला फिल्मका वास्तविक सिक्वेल हुन्।
निश्चल बस्नेतको लेखन तथा निर्देशनमा बनेको र २०६८ सालमा प्रदर्शनमा आएको फिल्म ‘लुट’ले कथाको प्रस्तुतिमा नयाँ शैली दिएको थियो। यसलाई निपाली फिल्मकै ‘टर्निङ पोइन्ट’ मानिन्छ। सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, प्रवीण खतिवडालगायत कलाकारको मुख्य भूमिका रहेको फिल्मले व्यावसायिक रुपमा सफलता पाएको थियो। समीक्षकहरूले पनि राम्रो मूल्यांकन गरेका थिए। फिल्ममा नयाँ कथा र नयाँ अनुहारलाई प्रवेश गराउन ‘लुट’ले अहम् भूमिका खेलेको थियो।
‘लुट’को अन्त्य फिल्मको पात्र हाकु काले (सौगात मल्ल अभिनित)ले आफ्ना चार साथीलाई धोका दिएर बैंक लुटेको घटनामा सकिएको थियो। सोही कथालाई निरन्तरता दिँदै बनेको ‘लुट २’ २०७३ फागुनमा प्रदर्शनमा आएको थियो। ‘लुट’मा अन्त्य भएकै कथाबाट ‘लुट २’को सुरुवात हुन्छ। हाकु कालेको छलकपटका कारण जेल पुगेका नरेश, खत्री, गोले र पाण्डेले बदला लिन खोजेको घटनामा सिक्वेल बनाइएको छ।
२०७३ कात्तिकमा प्रदर्शनमा आएको फिल्म ‘जात्रा’माथि बनेको सिक्वेल ‘जात्रै जात्रा’ले पनि अघिल्लो फिल्मको कथालाई निरन्तरता दिएको छ। ‘जात्रै जात्रा’ २०७६ जेठमा प्रदर्शनमा आएको थियो। दुवै फिल्मको निर्देशन प्रदीप भट्टराईले गरेका थिए।
पहिलो फिल्ममा फडिन्द्र तिम्सिना (विपिन कार्की) र उसका दुई साथी जयस (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा)ले बैंकबाट अरु कसैले लुटेको तीन करोड रुपैयाँ भेटेको घटनालाई दखाइएको छ। भेटिएको पैसाका कारण उनीहरु तीनै जना जेल पुग्छन्। यही फिल्मको सिक्वेलको रुपमा आएको ‘जात्रै जात्रा’मा उनीहरु निर्दोष भएकाले जेलबाट छुटेका हुन्छन्।
सिक्वेलमा फेरि एक पटक उनीहरुको ‘भाग्य’ चम्किन्छ। करोडौं मूल्यको सुन उनीहरुको हातमा लाग्छ। आफूले भेटेको सुनलाई उनीहरुले आफ्नो बनाउन सक्छन् वा पहिलो फिल्ममा जस्तै ‘हात लाग्यो शून्य’को स्थितिमा पुग्छन् भन्ने नै सिक्वेलको विषय हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।