काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणको समाप्तिपछि एएफसी क्लब लाइसेन्स प्राप्त ४ क्लबमध्ये अंकतालिकाको शीर्ष स्थानमा रहने एक टोलीले एफसी कपको छनोट चरण खेल्ने भएको छ।
लिगका थप ४ चरणको खेलपछि शीर्ष स्थानमा रहने ४ मध्येको एक टोलीले एएफसी कप खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए।
दशरथ रंगशालामा जारी लिग खेलिरहेका १४ क्लबमध्ये साविक विजेता मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी, विभागीय टोली त्रिभुवन आर्मी र अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले मात्र एएफसी क्लब लाइसेन्स प्राप्त गरेका छन्। एएफसी लाइसेन्स प्राप्त गरेका यी ४ क्लबले मात्र नेपालबाट एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता खेल्न पाउनेछन्। ‘१८ मंसिर गतेसम्म सहभागी क्लबको नाम पठाउनुपर्ने भन्ने थियो,’ उनले भने, ‘लिग जारी रहेकाले पुसको २२ गतेसम्म हामीले सहभागी क्लबको नाम पठाउने समय मागेका छौं।’
लिगमा तीन चरणको खेल समाप्त भइसकेको छ। पुस १९ गतेसम्म सातौं चरणको खेल सकिन्छ।
बुधबार लिगको तेस्रो चरणको समाप्तिमा अंक तालिकाको दोस्रो स्थानमा रहेको मछिन्द्र र तेस्रो स्थानको मनाङको समान ७ अंक छ। यता, आर्मी ५ अंकका साथ छैटौं स्थानमा छ भने अंकविहिन एपीएफ रेलिगेशन जोनमा रहेको छ।
गत सिजन मछिन्द्रसँग क्लब लाइसेन्स नभएकै कारण एफसी कपको समूह चरणमा प्रतिस्पर्धा गर्न पाएको थिएन। उसको सट्टा दोस्रो स्थानको आर्मीले एफसी कपको समूह चरणमा प्रतिस्पर्धा गरेको थियो।
एएफसी कपको छनोट आगामी अप्रिलमा हुने तालिका रहेको छ। लाइसेन्स प्राप्त गर्ने क्लबहरुले जारी सिजनमा एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगिताहरुमा सहभागिता जनाउने पाउने प्रावधान रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।