काठमाडौं- बिहीबार प्रकाशशरण महतको पुस्तक ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ को विमोचन समारोहको अन्तिम वक्ता थिए, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा।
पालो आएपछि देउवा बोल्न थाले- पुस्तक विमोचन समारोहका सभापति महोदय, पुस्तकका लेखक रामशरण महतज्यू, सरी प्रकाशशरण महतज्यू, माफ गर्नुहोला। र, उपस्थित साथीहरु।
देउवा नाममै झुक्किएपछि हलभरि हाँसो गुञ्जियो। देउवाले स्पष्टीकरण दिँदै भन्न थाले, ‘पुस्तक रामशरणले लेख्छ भन्ने ठानेको प्रकाशशरणले लेखेछ।‘
पुस्तक विमोचन समारोहमा पुग्ने अधिकांश नेताकै शैलीले देउवा बोल्न थाले, ‘मैले किताब पढ्न पाएको छैन। अवश्य नै उहाँले मेहनत गर्नुभएको होला। राम्रो लेख्नुभएको होला। उहाँ डेडिकेडेट साथी हो। जे काममा लागे पनि लागेको लाग्यै गर्ने। अन्त्यन्तै मेहनेती व्यक्ति हो। किताब महत्त्वपूर्ण होला भन्ने लाग्छ।‘
देउवाले प्रकाशशरण महतलाई ‘नेपालीमै लेख्नुभएको भए राम्रो हुन्थ्यो, म जस्तो अंग्रेजी नबुझ्नेलाई के गर्नुहुन्छ?’ भनेर ठट्टा पनि गरेको बताए।
नेपाली कांग्रेसको उच्च तहमा पुग्ने रामशरण महत र प्रकाशशरण महत दाजुभाइ हुन्। रामशरण पौडेल पक्षका नेताको रुपमा परिचित छन्, प्रकाशशरण भने देउवा पक्षकै नेता हुन्। प्रकाशशरण अहिले सहमहामन्त्री छन्। उनी चौधौं महाधिवेशनका लागि महामन्त्रीमा दाबी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।