काठमाडौं– स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ। बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० को हारसँगै बार्सिलोना बाहिरिएको हो।
उसलाई अघिल्लो चरणमा पुग्न जित्नैपर्ने दवबाब थियो। समुहकै अर्काे खेलमा बेन्फिकाले जित निकालेपछि बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो।
बर्सिलोना दुई दशकपछि समूह चरणबाट बाहिरिएको हो। यसअघि सन् २०००÷०१ सिजनमा बार्सिलोना समूह चरणबाट नै बाहिरिएको थियो।
एलिएन्ज एरिना म्युनिखमा बुधबार राति सम्पन्न खेलमा घरेलु टोली बायर्नको जितमा थोमस मुलर, लिरोए साने र जमल मुसिएलाले गोल गरे।
खेलको ३४औं मिनेटमा थोमस मुलरले गोल गर्दै घरेलु टोली बायर्नलाई अग्रता दिलाए। उनले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गरेका थिए। ४३औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे। ६२औं मिनेटमा जमल मुसिएलाले गोल गर्दै बायर्नलाई ३–० को स्थितिमा पुर्याए।
यो जितसँगै बायर्नले समूह ‘ई’ मा शतप्रतिशत जित निकाल्दै समूह विजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो । बायर्नले ६ खेलबाट १८ अंक जोड्यो। पराजित बार्सिलोना ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो।
बार्सिलोनाले समूह चरणमा दुई जित, एक बराबरी र तीन हारको नतिजा निकाल्यो। बार्सिलोनाले बायर्नसँग दुई खेलमा समान ३–० र बेन्फिकासँग ३–० को कै हार बेहोरेको थियो। डेनामो किएभलाई दुवै खेलमा समान १–० ले पराजित गर्दा बेन्फिकासँग एक खेलमा गोलरहित बराबरी खेल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।