प्रतिकात्मक तस्वीर
रुकुमकोट– रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा प्रहरीले बाल विवाह रोकेको छ। पुथाउत्तरगङ्गा गाउँपालिका–१४ मा हुन लागेको बालविवाह कोल प्रहरी चौकीका इञ्चार्ज गनेश विक नेतृत्वको प्रहरी टोलीले रोकेको हो। केटा र केटी दुवैको उमेर नपुगी बिहेका लागि भन्दै भागेका उनीहरूको विवाह प्रहरीले रोकेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ।
बुधबार राङ्सीस्थित केटा पक्षको घरमा मण्डवमा बसेका उनीहरुको विवाह प्रहरीले मण्डपबाटै रोकेको प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले बताए। श्रेष्ठका अनुसार बालविवाह हुन लागेको भन्ने सूचना त्यहाँको किशोरी समूह र बाल क्लबमार्फत प्रहरीमा पुगेपछि विक नेतृत्वको प्रहरी टोली गएर विवाह रोकेको हो। केटाको उमेर १४ वर्ष र केटीको उमेर १८ वर्ष रहेको उपरीक्षक श्रेष्ठले बताए।
त्यहाँका स्थानीयसँगै क्लब र किशोरी समूहले बालविवाह गर्नु हुँदैन भनेर परिवारलाई सम्झाउँदा नमानेको बताएका छन्। सम्झाउँदा पनि नमानेर परिवारले केटाकेटीको विवाह गरिदिन थालेपछि प्रहरीलाई खबर गरेको किशोरी समूह र क्लबले जनाएका छन्।
प्रहरीले बालविवाह रोकेर केटा र केटी दुवैलाई अभिभावकको जिम्मा लगाएको उपरीक्षक श्रेष्ठले बताए। केटाकेटी अभिभावकको संरक्षणमा रहेको बताउँदै प्रहरीले उनीहरूको परिवारलाई बालविवाह नगराउन चेतावनीसमेत दिएको छ।
परिवारले पनि कानुनी कुरा थाहा नपाएर एकअर्काको मञ्जुरीले भागेका केटाकेटीको बिहे गराउन लागेको बताएको थियो। आगामी दिनमा यस्तो कार्य नगर्नेसमेत दुवै पक्षका परिवारले बताएका छन्। परिवारका अनुसार ती केटाकेटी मंसिर ९ गतेको दिन बिहे गर्ने भन्दै घरबाट भागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।