काठमाडौं- एकता महाधिवेशनबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको पहिलो बैठकले विचार मिल्नेहरुसँग कार्यगत गर्ने निर्णय गरेको छ। बुधबार सम्पन्न बैठकले विभिन्न नौ बुँदे निर्णय गरेको हो।
बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले समान विचारधारा भएका व्यक्ति ,समूह, संस्था, सङ्गठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि आवश्यक वार्ता एवं सम्वादका लागि महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा समितिसमेत गठन गरेको छ। उक्त समितिमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहेका छन्।
त्यस्तै आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै महामन्त्री भुवन पाठकको संयोजकत्वमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजंग उप्रेती र डा गीताभक्त जोशी सदस्यसचिव रहेको स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा मर्यादाक्रम निर्धारण समिति बनाइएको छ। उक्त समितिमा केन्द्रीय सदस्य डा.राजेश गिरी र केन्द्रीय सदस्य भरत पाठक सदस्य रहेका छन्।
बैठकले पुस महिनाभित्र सबै प्रदेश कार्यसमितिहरुलाई विस्तारित बैठक बोलाउन निर्देशन दिने निर्णय गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विभिन्न कालखण्डमा राप्रपामा आबद्ध रहेको तर विभिन्न कारणले राप्रपा परित्याग गरेका, निष्क्रिय रहेका, अर्को पार्टीमा गइ भूमिकाविहीन भएकाहरुलाई परिवर्तित सन्दर्भमा राप्रपामा फर्कन र सक्रिय रहनसमेत बैठकले आह्वान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।