फाइल तस्बिर
काठमाडौं- मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)का नेता सीपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताएका हुन्। उनले एमसीसी सच्चा देशभक्त र विदेशी दलालको बारेमा पर्दाफास गर्ने रेखा हुने पनि बताए। हरेक नागरिकले अब देशभक्त भएर उभिने वा विदेशी दलालको साथ दिने भन्ने कुरा अत्मसाथ गर्नुपर्ने बेला आएको उनको भनाइ थियो।
नेता गजुरेलले अहिले एमसीसीका कारण जनतामा आक्रोश पैदा भएको र जनताको आक्रोशलाई क्रान्तिमा बदल्नुपर्ने बताए। उनले एमसीसी भनेको अधिकांश नेपालीहरुले चाहेको विषय नभएकोले क्रान्तिकारी भएको नाताले यसमा हस्तक्षेप गर्नुपरेको पनि स्पष्ट पारे।
नेता गजुरेलले भने, ‘अहिलेको शक्ति सन्तुलनमा क्रान्तिकारी, अग्रगामी शक्तिहरु बलियो भयो भने त्यो परिवर्तन अग्रगामी हुनसक्छ। अर्को नयाँ खालको, अगाडि बढ्ने खालको परिवर्तन हुनसक्छ, त्यसकारण हामी त्यसको निम्ति सतर्क र तयार रहनु आवश्यक छ। त्यो विस्फोट हुनसक्ने सम्भावना छ। हामी क्रान्तिकारीको हैसियतले त्यसमा हस्तक्षेप गर्नुपर्ने हाम्रो कर्तव्य हो।'
अहिलेको ध्रुवीकरणले जनआक्रोश र असन्तोष बढाएको उनले बताए। 'म अमेरिका, भारतको दलाल हुँ भनेर संसारमा कसैले पनि भन्दैन। तर सच्चा देशभक्त हो कि होइन अब टेस्ट हुँदै छ। कुन सुन, कुन पित्तल भन्ने कुराको कसी लाग्दै छ, ठूलो रेखा कोरिँदै छ। त्यसकारण ध्रुवीकरण हुँदै छ,' नेता गजुरेलले भने, 'अब हरेक नागरिकले कुन कित्तामा उभिने भनेर आफ्नो परिचय दिनुपर्छ। यो अहिलेको आवश्यक्ता हो।'
एमसीसी देशको लागि एउटा ध्रुवीकरण भएको उनको भनाइ थियो। 'यो चाहेर आएको होइन। एमसीसीले ध्रुवीकरण ल्याइदिएको छ, यो आशङ्का र असन्तोषलाई स्पष्ट पार्दै फेरि क्रान्तिकारी आन्दोलनद्वारा नै जनतलाई चेतना दिँदै अघि बढ्नुपर्छ। आँखा चिम्लिएर नभइ तथ्यबाट सत्य पत्ता लगाउने हाम्रो सिद्धान्त हो। यसलाई पास गर्न हामी दिँदैनौ,' उनले भने।
नेता गजुरेलले क्रान्तिकारी आन्दोलनबाट नै जनतालाई चेतना दिँदै अघि बढेर एमसीसी पास हुन नदिने बताए। उनले एमसीसीका कारण देशमा अस्थिरता पैदा भएको भन्दै शक्ति सन्तुलनमा पश्चगामी शक्ति हाबी भए पश्चगमन हुनसक्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।