काठमाडौं- अंग्रेजी वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनमा सेरेना विलियम्सले भाग नलिने भएकी छन्।
आउँदो जनवरी १७ बाट सुरु हुने प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको सूची बुधबार सार्वजनिक गरिएको छ। सूचीमा २३ पटक ग्रान्डस्लाम जितेकी सेरेनाको नाम छैन।
सात पटक अस्ट्रेलियन ओपन जितेकी सेरेना पछिल्लो समय चोटका कारण संर्घषरत छन्। खुट्टाको चोटका कारण उनी गत जुनमा भएको विम्बल्डनको पहिलो चरणबाटै बाहिरिएकी थिइन्। २४औं ग्रान्डस्लाम जित्दै मारगारेट कोर्टको सर्वाधिक पटक विम्बल्डन जितेको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा रहेकी सेरेनाले नयाँ संस्करणको अस्ट्रेलियन ओपन खेल्ने बताएकी थिइन्। तर, उनले नाम भने सूचीमा समावेश गरिएकी छैनन्।
यता, विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचको नाम भने सूचीमा रहेको छ। कोरोनाविरुद्धको खोप अनिवार्य गरिएपछि जोकोभिचले मेलबर्न पार्कमा हुने यो ग्रान्डस्लाममा भाग लिने वा नलिने अन्योल रहँदै आएको छ। तर, उनको नाम सूचीमा राखिएपछि जोकोभिचले अस्ट्रेलियन ओपन खेल्ने सम्भावना बढेको छ।
यसपालिको अस्ट्रेलियन ओपनमा सहभागी हुने सबै खेलाडी तथा अफिसियललाई खोप अनिवार्य गरिएको छ। जोकोभिचले अहिलेसम्म आफूले खोप लगाएको वा नलगाएको विषयमा केही खुलाएका छैनन्। खोप लगाउने वा नलगाउने निर्णय व्यक्तिगत हुने भएकाले यसबारे सार्वजनिक रुपमा जानकारी दिन आवश्यक नरहेको उनले सञ्चारमाध्यमहरुमा बताउँदै आएका छन्।
यसैबीच अस्ट्रेलियाका सञ्चारमाध्यमहरूले सूचीमा रहेका सबै खेलाडीले अनिवार्य खोप लगाउनुपर्ने नियममा कुनै परिवर्तन नगरिएको जानकारी दिएका छन्। जोकोभिच २१औं ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन्। आगामी अस्ट्रेलियन ओपन जितेमा उनले यस्तो कीर्तिमान राख्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।