काठमाडौं- हिमालयन शेर्पा क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा बुधबार सम्पन्न दिनको पहिलो खेलमा शेर्पा र पुलिसले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
शेर्पाका लागि कप्तान विश्वास श्रेष्ठले गोल गरे भने पुलिसका सुमन लामाले बराबरी गोल फर्काए।
खेलको ५३ सेकेन्डमै कप्तान विश्वास श्रेष्ठले गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए। मैदानको मध्य भागमा अलरिच सिवे र विश्वासको समन्वयमा बनेको मुभमा विश्वास श्रेष्ठको पेनाल्टी बक्सबाहिरको प्रहार पुलिसका गोलरक्षक सत्रुधनकुमार चौधरीलाई लाग्दै गोलमा परिणत भएको थियो। जारी लिगकै यो सर्वाधिक छिटो गोल हो।
६०औं मिनेटमा सुमन लामाले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए। रवि पासवानको क्रसमा अनमार्क रहेका सुमनले सिक्स यार्ड बक्सभित्रबाट सहजै गोल गर्न सफल भएका थिए।
जारी लिगमा शेर्पा अझै जितविहीन छ। शेर्पाले यसअघि दुईमध्ये एक खेलमा हार र एक खेलमा बराबरी खेलेको थियो। यसअघि शेर्पाले संकटा क्लबसँग १-१ गोल बराबरी खेल्दा मनाङ मर्स्याङ्दीसँग १-० को हार बेहोरेको थियो।
अपराजित पुलिसको यो दोस्रो बराबरी हो। पुलिसले पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीसँग १-१ गोलको बराबरी खेल्दा जावलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको थियो। बराबरीपछि पुलिसको ३ खेलबाट ५ अंक पुगेको छ। शेर्पाको तीन खेलबाट २ अंक छ।
पुलिस अंक तालिकाको चौंथो स्थानमा उक्लिएको छ। यता, शेर्पा १२औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।