काठमाडौं- सेयर बजार ओरालो लाग्ने क्रम आज पनि निरन्तर रह्यो। साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा ५३.१० अंकको उच्च गिरावट आएको हो।
यो साताको पहिलो कारोबार दिन (आइतबार) घटेर सुरुआत गरेको पुँजीबजार मापक परिसूचक (नेप्से) सोमबार ३२.२२ अंकले बढेको थियो। तर, मङ्गलबार पुन: ३७.१८ अंकले घटेर २५०८.९१ विन्दुमा ओर्लिन पुग्यो।
आज (बुधबार) कारोबार बन्द हुँदासम्म ५३.१० अंकले घटेर नेप्से २४५५.८१ विन्दुमा पुगेको छ। आज समग्र नेप्से २.१२ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ।
यस दिन कारोबार रकम पनि दुई अर्ब ६६ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ। मङ्गलबार तीन अर्ब १२ करोड ८३ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
नेप्सेका अनुसार आज कूल कूल २२६ वटा कम्पनीका ६५ लाख ६० हजार ९४७ कित्ता सेयर ४२ हजार ९४६ पटक किनबेच भएका थिए।
कारोबार भएकामध्ये सात वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ। बाँकी १८१ कम्पनीको मूल्य घट्न पुगेको छ।
यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ९.३४ अंकले घटेर ४६४.७९ विन्दुमा ओर्लिएको छ।
आज स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता १.९४ प्रतिशतले कमाएका छन्। सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ८.५४ प्रतिशतले सेयर मूल्य गुमाएका छन्।
नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सबैभन्दा धेरै ११ करोड ८८ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोही कम्पनीको सेयर सबैभन्दा धेरै एक हजार ३७४ पटक किनबेच भएको नेप्सेले जनाएको छ।
आज सबै उपसमूहको परिसूचक राताम्य बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।