काठमाडौं- वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले आयोजना गरेको भेलामा सहभागी नेताहरुले जसरी पनि साझा उम्मेदवार चयन गर्न सभापतिका आकांक्षीहरुलाई सुझाव दिएका छन्।
बुधबार विहान बानेश्वरस्थित अनुपम फुड ल्यान्डमा बसेको पौडेलपक्षका नेताहरुको भेलामा सहभागी नेताहरुले जसरी पनि सभापतिमा साझा उम्मेदवार चयन गर्न आकांक्षीहरुलाई सुझाव दिएका हुन्।
भेलामा रामशरण महत, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, गगन थापा, दिलेन्द्र बडु, चित्रलेखा यादव लगायत जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति, प्रदेश सभापति, केन्द्रीय सदस्यहरुको उपस्थिति थियो।
सभापतिका आकांक्षीलाई जसरी भए पनि साझा उम्मेदवार तय गर्न सुझाव आएको भेलामा सहभागी केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए।
कुनै एक जनाको नाम लिने कुरा वा मतदान गर्ने कुराले विभाजन ल्याउने भएकाले भेलाले विभाजित भएर निष्कर्ष निकाल्न नसक्ने बताएको उनले जानकारी दिए।
'कुनै एक जनाको नाम लिने कुरा वा मतदान गर्ने कुरा विभाजन ल्याउने कुरा हो। हामी विभाजन भयौं भने निष्कर्ष निकाल्न सक्दैनौं' उनले भने, '४ जना एक बनाउने जिम्मेवारी तपाईंहरु केन्द्रीय तहका नेताहरुको हो। ४ जना मात्र बसेर एक जनालाई उम्मेद्वार बनाउनुस् वा केन्द्रीय सदस्य बसेर बनाउनुस्। तर, बनाउनुस् भन्ने सुझाब बैठकमा सहभागीले दिए।'
त्यही अनुसार आजै ३ बजे चाक्सीबारीमा नेताहरु छलफलमा बस्ने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।