काठमाडौं– सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा पदाधिकारीका आकांक्षीहरुले आफ्नो दाबी प्रस्तुत गरेका छन्। देउवानिवास बूढानीलकण्ठमा जारी बैठकमा डिला संग्रौला र मोहनबहादुर बस्नेतले यस पटक आफूहरुलाई पदाधिकारीमा समावेश गर्न आग्रह गरेको नेता मीनबहादुर विश्वकर्माले बताए।
मंसिर २४ गतेदेखि सुरु हुने १४औं महाधिवेशनमा पदाधिकारीसहित १३४ जनाको निर्वाचन हुन्छ। आजको बैठकपछि पदाधिकारीको पहिलो सूची बनाइने उनले बताए।
‘आज सभापति शेरबहादुर देउवाले पहिले नै उम्मेदवारी सार्वजनिक गरेका र आफू निकटका नेताहरुलाई छलफलमा बोलाएको हो,’ नेता विश्वकर्माले भने, ‘केही नेताहरुले आफ्नो आकांक्षा राखिराख्नुभएको छ। यो क्रम टुंगिएपछि आफू निकट नेताहरुको पदाधिकारीको पहिलो सूची बन्नेछ।’
सहकार्यका लागि नेता कृष्णप्रसाद सिटौला समूहसँग कुरा भइरहेको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।