काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले पार्टीको चौधौं महाधिवेशनमा कृष्णप्रसाद सिटौला पक्षसँग सहकार्य हुनेमा विश्वस्त रहेको जनाएको छ।
बुधबार देउवा निवास बुढानिलकण्ठमा पत्रकारहरुसँग कुरा गर्दै देउवा निकट नेता मिनबहादुर विश्वकर्माले सहकार्यको लागि सिटौलासँग लामो समयदेखि छलफल चलिरहेको बताए।
‘सभापतिले समकक्षी नेताहरुसँग महाधिवेशनलाई भव्य र सभ्य ढंगले हार्दिकताका साथ सम्पन्न गर्नका लागि सकभर सर्वसम्मत, योग्य नेताहरुलाई समावेश गर्नका लागि छलफल गरिरहनुभएको छ। यसक्रममा कृष्णप्रसाद सिटौलाले पनि सहकार्यका लागि सकारात्मक संकेत दिनुभएको छ’, उनले भने।
प्रदेश १ र बागमती प्रदेश तथा कतिपय जिल्लाको अधिवेशनमा पनि सहकार्य भएको सन्दर्भ सुनाउँदै विश्वकर्माले भने, ‘स्वभाविक रुपमा केन्द्रीय स्तरमा पनि उहाँहरुसँग सहकार्य हुन्छ भन्नेमा विश्वस्त छौं।‘
सिटौला तेह्रौं महाधिवेशनमा सभापतिका उम्मेदवार थिए। सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा उनले देउवालाई सघाएका थिए। हालैका जिल्ला र प्रदेश अधिवशेनमा पनि देउवा र सिटौलाबीच सहकार्य भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।