काठमाडौं– नेपाली कांग्रेसले १४औं महाधिवेशनबाट मुलुकलाई हालको परिस्थितिबाट निकास दिनका लागि वैचारिक बहससहित सुस्पष्ट कार्यदिशाको मार्गचित्र घोषणा गर्न एमालेले सुझाव दिएको छ।
मुलुकमा लोकतन्त्र स्थापना गर्न भएका सबै आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको प्रजातान्त्रिक दल हुुनाले नेपाली समाजले खोजेको माग सम्बोधन गर्ने वैचारिक र राजनीतिक बहसमा केन्द्रित हुन एमाले उपाध्यक्ष सुवास नेम्वाङले कांग्रेसलाई आग्रह गरेका हुन्।
मुलुकका प्रमुख तीन अंग प्रभावकारी नभएको परिस्थितिमा मुलुकलाई निकास दिन गम्भीररूपमा सोचेर नीतिगत बहस चलाउनु पर्ने सुझाव उपाध्यक्ष नेम्वाङले दिए।
कांग्रेसको अधिवेशन सफलताका लागि शुभकामना दिँदै एमाले संसदीय दलका उपनेता नेम्वाङले भने, ‘सबै राजनीतिक दलका अधिवेशन लोकतान्त्रिक विधि र प्रक्रियाअनुरुप सफलतापूर्वक हुनुपर्छ, यसले देशको संसदीय प्रणालीलाई बलियो बनाउँछ भन्ने मेरो मान्यता छ । यही मान्यतामा उभिएर कांग्रेसलाई मेरो शुभकामना रहन्छ।’
‘उत्साह, एकता र रुपान्तरण सफल बनाऔं’ भन्ने नारा तय गरिएको कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ। नेपालको प्रजातान्त्रिक दलका रूपमा विश्वमै पहिचान राखेको कांग्रेसले यसपटक महाधिवेशनका लागि प्रतिनिधि छनोटमा पार्टीको आन्तरिक जीवनमा लोकतन्त्रको उच्चतम अभ्यास गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।