काठमाडौं– प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनका लागि पदाधिकारीको उम्मेदवार छान्न बोलाएको बैठकमा उपसभापति विमलेन्द्र निधि अनुपस्थित भएका छन्।
देउवाले बूढानीलकण्ठमा बोलाएको बैठकमा उनी निकट भनिएका उपसभापति निधि अनुपस्थित भएका हुन्। निधिले यसअघि नै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्। आफू पनि सभापतिको उम्मेदवार भएको र देउवाले नबोलाएकाले घरमै रहेको बताए।
सभापति देउवाले बोलाएको बैठकमा प्रवक्ता एवम् महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका विश्वप्रकाश शर्मा भने उपस्थित भएका छन्।
देउवाले आफू निकटहरुलाई बोलाएर आगामी महाधिवेशनमा आकांक्षीहरुको सूची बनाउने तयारी गरेका छन्।
संस्थापनइतरले आजै साझा उम्मेदवार छान्ने तयारी गरेपछि देउवाले बिहान आफू निकटहरुको वैठक बोलाएका हुन्।
मंसिर २४ गते देखि काठमाडौमा हुने १४औं महाधिवेशनमा फेरि पनि सभापति निर्वाचित हुने चाहाना देउवाले राखेका छन्।
उनको गुटमा महामन्त्री र अन्य पदमा धेरै आकांक्षी देखिएकाले त्यसलाई मिलाउन पनि आफू निकटको गुनासो सुन्न बैठक बोलाएका हुन्।
देउवा गुटबाट महामन्त्रीका लागि प्रकाशशरण महत, बालकृष्ण खाँड, एनपी साउद, ज्ञानेन्द्र बहादुर कार्की पदाधिकारीमा अघि सरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।